काठमाण्डौ । विज्ञहरुको भाषामा भन्दा ‘लगाएको बालीबाट प्रतिफल लिने समय’मै सेयर बजार घटिरहेको छ । दुुई दिनको अवधि(बुधबार र बिहीबार) मात्रै नेप्से परिसूचक करिब ३५ अंकले घटिसकेको छ । बजारमा एकपछि अर्को गर्दै गिरावट यात्रा देखिएपछि कतिपय लगानीकर्ता अत्तालिएका छन् ।

धेरैजसो ठूला र बाठा लगानीकर्ताको ट्यापमा फसेका छन् भने उनीहरुले चलाउने हल्लाको पछाडि दौडिएर प्रतिफल लिने बेलामा हतारिएर राम्रा कम्पनीको सेयर समेत बिक्री गरिरहेका छन् । आखिर सबैलाई अत्याउने गरी बजार यसरी किन घटिरहेको होला ? सेयर बजार सम्बन्धी कानूनका विज्ञ तथा विश्लेषक ज्योति दाहाललाई हामीले यही प्रश्न सोधेका थियौ । उनले संक्षिप्त र बुँदागत रुपमा बजार घट्ने १३ कारण प्रस्तुत गरेका छन् :

१.शेयर लगानीलाई व्यापार बनाउने उद्देश्यविहीन प्रयास 

२.नयाँ लगानीकर्ता पहिलोपटक बढी मूल्य भएको शेयरमा झुम्मिनु र अलिकति घटनासाथ आत्तिनु 

३.केन्द्रीय बैंकको नीति अनुरुप पूँजी वृद्धि समयावधि समाप्त भएको र अधिकाँशले हकप्रद जारी गर्दैनन् भन्ने र मेरो कित्ता बढ्दैन भन्ने सोच्नु (हकप्रद जारी हुने क्रममा रहेकाहरुको भाउ करिब स्थिर देखिन्छ, जस्तो ओम, सांग्रिला, ग्रीन, अपि, एनसिसि आदि)

४.पूँजी वृद्धिको अन्तिम सीमा यही हो, अबदेखि बोनस पनि जारी हुन्न, नगद मात्र लाभांश पाइन्छ, नगद के काम ? भन्ने गलत मनोविज्ञान 

५.शेयर र शेयरबजारलाई दिगभ्रमित पार्ने समचारको सम्प्रेषण 

६.क्रेडिट समस्यालाई तरलता समस्या भनिनु, जब कि यी दुई बीचमा आकाश जमिनको फरक छ भन्ने बुुझ्न नसक्नुु 

७.बैंकहरुसँग दीर्घकालीन बचत योजना नहुनु 

८.स्टक एक्सचेञ्ज र दलालप्रतिको नकारात्मक धारणा 

९. ठूला चाडपर्वको प्रभाव

१०.वस्तुबजार जस्तो घट्ने र बढ्ने मात्र ठान्नु, जब कि यसमा वार्षिक लाभको अन्तनिर्हित पक्ष हुन्छ्र 

११. लगानी र प्रतिफलको पक्ष अन्धकारमा पर्नु 

१२.बढी महत्वाकांक्षा पालेर क्षमता भन्दा बढी लाभांश खोज्नु 

१३.बुक क्लोज जस्ता शेयरबजार सम्बन्धी प्राविधिक शब्दावलीलाई नबुझी किन्नु (भोलिपल्ट मूल्य समायोजन हुँदा यसलाई नबुझ्दा भाउ घटेको भन्दै आत्तिनु र बेच्नु)