काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा सेयर बजार ओरालो लाग्ने कारण पेश गरेका छन् । 

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा दोश्रो बजारका अधिकांश सूचकांकहरु अपेक्षित रुपमा सन्तोषजनक हुन नसकेका उल्लेख गर्दै भनेका छन्–‘लगानीयोग्य पूँजीमा परेको चाप र धितोपत्रको आपूर्तिमा वृद्धि भएका कारण धितोपत्र परिसूचक तथा कारोबारमा गिरावट आएको हो ।’ 

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा धितोपत्रको प्राथमिक बजारमार्फत ३२ अर्ब ८४ करोड बराबरको पूँजी परिचालन भएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले कम हो । 

यो अवधिमा विभिन्न कम्पनीको आइपीओ र एफपीओमार्फत ५ अर्ब ५३ करोड, हकप्रद सेयरमार्फत १९ अर्ब ५० करोड, म्युचुअल फण्डमार्फत ४ अर्ब ८० करोड तथा ऋणपत्रमार्फत ३ अर्ब पूँजी परिचालन भएको छ । यस अलावा बोनस सेयरमार्फत १० अर्ब ८७ करोड बराबरको पूँजी परिचालन भएको छ । 

अघिल्लो वर्षको तुलनामा बजार पूँजीकरण पनि घटेको छ । २०७४ फागुन मसान्तमा बजार पूँजीकरण २०७३ फागुन मसान्तको तुलनामा २.० प्रतिशतले कमी आएको सर्वेक्षणमा उल्लेख छ ।

यस्तै, यो अवधिमा धितोपत्र कारोबार रकममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.२ प्रतिशतको गिरावट आएको समेत बताइएको छ ।