काठमाण्डौ । सेयर बजार कारोबार मापक नेप्से इण्डेक्समा आएको सुस्ततासँगै दैनिक कारोबार रकम स्थिर बन्दै गइरहेको बजारले लय समात्ने छाँटछाट देखाएको छैन । 

आम लगानीकर्ताको अपेक्षाविपरीत बजार सुस्त बन्दै जाँदा धेरैमा अन्यौल देखिएको छ । बजारको अबको दिशा कुन र कता होला भन्ने विषयमा धेरै लगानीकर्ता बिलखबन्दमा छन् । यही बेला बजारको प्राविधिक रेखा कतातिर दौडिरहेको होला त ? प्राविधिक विश्लेषकहरुको आँखामा बजारको दिशा र यसले लिनसक्ने गतिको विषयमा यो सामाग्री तयार पारिएको छ । 

प्राविधिक विश्लेषक सुकराम पाण्डेले बजारको हालको अवस्थालाई ‘करेक्सन’ भनेका छन् । बजारको पनि छुट्टै सिँढी हुने र सो सिँढीमा उक्लदै गर्दा ब्रेक आउने भएकाले करेक्सन हुने गरेको पाण्डेको जिकिर छ । 

केही महिनाअघि नेप्से इण्डेक्सले १३ सय ५० विन्दू चूम्दा बजारले आफ्नो ‘स्प्रिट लूज’ गरेको पाण्डे दाबी गर्छन् । नेप्से इण्डेक्स ११ सय २५ विन्दूभन्दा तल आउन निकै गाह्रो हुने उनको बुझाइ छ ।

हाल बजार तल खस्न नमानिरहेको र डाउनसाइड मोमेन्टम रोकेको पाण्डे सुनाउँछन् । भनिएझैं बजार स्थिर नहुने र बजारले आफ्नो गति समात्ने बताउँदै पाण्डे भन्छन्–‘बजारको सामान्य ट्रेण्ड ४५-५० दिनको हुन्छ । हामीले यसको संकेत बुझ्न भने जरुरी छ। अब बजारको दिशा ११ सय ५१ को विन्दू पार नगरेको खण्डमा बजार तत्काल बढ्नसक्ने संभावना देखिन्न ।’

बजार घटेपछि एउटा निश्चित चक्र पूरा गरी बढ्ने प्राकृतिक नियममा जोड दिंदै उनले बजार कति अंकले अब बढ्ने भन्दापनि टार्गेट मुमेन्टले बजारको दिशा तय गर्ने बताए । उनले आउँदा दिनमा अझै ३०÷४० अंकको गिरावट आए पनि लगानीकर्ताहरु धेरै निराश हुनु नपर्ने दाबी समेत गरे ।

लगानीकर्ताहरुमा आत्मविश्वासकै कमी र सरकारबाट पूँजीबजारका लागि यथेष्ट पहल नगरिँदा बजार चलायमान नभएको अर्का प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालको भनाइ छ । आगामी एक/डेढ महिनासम्म खासै ठूलो मुमेन्ट बजारले लिन नसक्ने दाबी गरेका बस्याल उत्तारचढाव नगन्य नै हुने सुनाउँछन् । 

‘अब बजारले ११ सय र ११ सय ५० कै निश्चित विन्दूभित्रै बसेर कारोबार गर्छ।’बस्यालले भने–‘यद्यपि डाउनसाइडमा रहेको बजारमा कारोबार रकमको आकार कम  हुनु राम्रो संकेत हो । यसले  भोलिका दिनमा राम्रो मुमेन्ट ल्याउन सक्दछ भन्ने संकेत गर्छ ।’

एक महिनापछि नेप्से इण्डेक्स ११ सय ५२ विन्दू उक्लने पहिलो अवरोध देखिएको बताउँदै बस्यालले अर्को अवरोध ११ सय ७८ विन्दू पार गर्दै बजार बढ्ने नै संकेत देखिएको दाबी समेत गरे ।

यसैगरी, अर्का सेयर प्राविधिक विश्लेषक सन्तोष लिङदेनका अनुसार लगानीकर्ताहरु अहिले अलमलको अवस्थामा छन् । बजारले माथि उक्लने सिग्नल आउन प्रतीक्षा गरिरहेको लिङ्देन दाबी गर्छन् । ‘बजारले निकै गतिलो लय समात्ने हो भने नेप्से इण्डेक्स १३ सय विन्दू क्रस गर्नै पर्छ।’लिङदेन भन्छन्–‘बजार त्यतिबेला साइलेन्ट पनि हुनसक्ने विगतको इतिहासले देखाउँदछ ।’ 

बियरिस ट्रेण्डमा रहेको हालको बजारमा कारोबार रकम कम हुनुले प्यानिक सेल नभएको उनको बुझाइ छ । हाल सिग्नल प्रष्ट नबन्दा समेत बजारले लय र गति नसमातेको लिङदेनको भनाइ छ ।

सेयर बजारका प्राविधिक जानकार टंकराम गौतमले इण्डेक्स प्याटर्नहरु सकारात्मक नभएको जिकिर गर्दै नेप्सेमा सूचीकृत भएका धेरै पूँजी भएका कम्पनीहरुलाई चलाउने काम भइरहेको बताए । 

सेयर कारोबारको इतिहासकै आधारमा नेप्से इण्डेक्सको प्रक्षेपण गरिने भएको बताएका गौतम समय सकारात्मक भए पनि प्याटर्न र परफरमेन्स नकारात्मक बनेको जिकिर गर्छन् । आम लगानीकर्ताहरु लगानीका लागि उत्साहित नबनिरहेका र पर्ख अनि हेरको दोधारले नै हालको बजार चलायमान नभएको गौतमको बुझाइ छ ।