काठमाण्डौ । अघिल्लो दिनको तुलनामा बजारको गिरावटमा केही सुधार देखिएको छ । कारोबार रकम पनि बढेको छ । बजार परिसूचकको फराकिलो गिरावट कम हुँदै जानुु र कारोबार रकम बढ्नुुले भविष्यका लागि राम्रो संकेत गर्छ । तर, केही दिनदेखिको प्रवृतिलाई हेर्ने हो भने दशैंअगाडि बजार बुम हुने अवस्था भने छैन । 

बुधबार बजार परिसूचक ९ अंकले घटेर १४९३.२० अंकमा झरेको छ । निकै लामो समयपछि बजार परिसूचक(नेप्से) १४०० को स्तरमा झर्न पुुगेको हो । 

यो दिन चार समूहको सूचकमा सुधार देखियो भने ४ समूहको सूचकमा रातो पोतियो । 

होटल समूह १०.७४, जलविद्युत समूह १२.४७, बित्त समूह ९.७१ र बिमा समूह ८.९१ अंकले बढे । यस्तै, वाणिज्य बैंक समूह ११.२६, विकास बैंक समूह २४.०५, उत्पादनमूलक २२.६३ र अन्य समूह ६.०८ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.०४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६९ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोड ३१ लाख बढीको कारोबार गर्यो । यस्तै, जनता बैंक नेपालले २ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड १९ लाख, कामना सेवा विकास बैंक लिमीटेडले १ करोड ९२ लाख, स्ट्याण्डर्ड चार्टर्डले पनि १ करोड ९२ लाख बढीको कारोबार गरे । एशियन लाइफ इन्स्योरेन्सको १ करोड ९२ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्राइम लाइफले १ करोड ७७ लाख, नेको इन्स्योरेन्सले १ करोड ७२ लाख, प्रभूू इन्स्योरेन्सले १ करोड ४१ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनी र ३ स्थान वाणिज्य बैंक र एक स्थाना विकास बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एभरेष्ट बैंकको कन्भर्टेट सेयरको मूल्य सबैभन्दा बढी वृद्धि भयो । यो सेयरको मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, वरुण हाइडोपावर र किसान माइक्रो फाइनान्सको सेयरमा ४ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

आकर्षक लाभांश घोषणा गरे पनि लक्ष्मी लघुवित्तमा लगानीकर्ताको आकर्षण देखिएन । यहीकारण यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको पहिरो गयो । कामना सेवा विकास बैंकले पनि ९.३७ प्रतिशतले सम्पत्ति गुमायो । सिर्जना फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशत बढीले घट्न पुुग्यो ।