काठमाण्डौ । आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा मुलुक प्रवेश गरिरहँदा समग्र अर्थतन्त्रको ऐना मानिने सेयर बजार निरन्तर घटिरहँदा समेत सरोकारवाला निकायहरु प्रतिक्रिया बिमुख रहेकाप्रति नेपाल इन्भेष्टर्स फोरम क्रूद्ध भएको छ । 

उसले समाजका सबै तह र तप्काका सर्वसाधारणले आफूले बचत गरेको रकम र कतिपयले ऋण समेत लिएर बजारमा लगानी गरेका भए पनि बजारको निरन्तरको गिरावटको निराकरणको बिषयमा सम्बन्धित क्षेत्र मौन रहेको भन्दै पूँजीबजारमार्फत व्यवसायिक क्षेत्रमा प्रवेश गर्न चाहने लाखौं लगानीकर्ता निरुत्साहित भएका प्रष्ट्याएको छ ।

फोरमले सरोकारवाला निकायलाई बजारको विकास र बिस्तारका लागि विगतमा बुुझाएको मागहरु पूरा नभएकै कारण बजारमा निरन्तर गिरावट आएको समेत दाबी गरेको छ । 

फोरमले पूँजीबजारका लागि आगामी दिन सुनौलो रहेको भन्दै नअत्तालिन लगानीकर्तालाई आग्रह समेत गरेको छ । ‘स्थिर सरकारको निर्माण, सीआस्वाको सफल कार्यान्वयनमार्फत आइपीओको आवेदन तथा बाँडफाँडमा भएको समको बचत र प्रविधिको प्रयोग, दिनानुदिन बढ्दै गएको लगानीकर्ताहरुको संख्या, बजारमा बढ्दै गएको म्युचुुअल फण्ड तथा संस्थागत लगानीकर्ता, छिट्टै संचालनमा आउने लागेको अनलाइन कारोबार प्रणाली, सूचिकृत कम्पनीहरुको व्यवसाय तथा कमाईमा भएको बढोत्तरी, पूँजीगत खर्चको बढोत्तरीसँगै बजारमा बढ्न जाने तरलता लगायतका कारणले पनि आगामी दिनमा नेपालको पूँजीबजारको भविष्य सुनौलो देखिन्छ ।’–फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

फोरमले त्यसअघि अर्थमन्त्रीलाई बुुझाएको ज्ञापनपत्रमा चाहि सेयर धितोकर्जामा कर्जाको सीमा बजार मूल्यको ७० प्रतिशत पुर्याउन, ब्रोकरमार्फत सेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउन, अनलाइन कारोबार प्रणाली समयमै कार्यान्वयनमा ल्याउन, ब्रोकरको संख्या तथा क्षेत्राधिकार बिस्तार गरी वाणिज्य बैंकमार्फत सेयर कारोबार गर्ने सुविधा बिस्तार गर्न लगायत १६ बुँदे माग बुुझाएको छ ।

ज्ञानपपत्रमा फोरमले प्रस्तुत गरेका माग यस्ता छन्:

  1. सम्झौता गरिएको अवधिभित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्ने
  2. ब्रोकरको संख्या तथा क्षेत्राधिकार बिस्तार गरी आस्वामा आबद्ध वाणिज्य बैंकहरुमार्फत सेयर कारोबार गर्ने सुविधा बिस्तार गर्ने
  3. गैरआवासीय नेपालीहरुलाई पूँजीबजारमा प्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने
  4. धितोपत्र बोर्ड, नेप्से सिडिएससी लगायतका निकायहरुमा क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधिमैत्री बनाउने
  5. नेप्सको संरचनागत सुधार र नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि तत्काल कार्य अगाडि बढाउने
  6. ब्रोकरको सेवा शुल्क तथा ब्रोकरको प्रवेश र बहिर्गमनलाई अन्तराष्टिय स्तरमा प्रचलित मान्यता अनुरुप बनाउने
  7. सेयर कर्जामा लगाइएको पूँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्ने
  8. सेयर धितोकर्जामा कर्जाको सीमा बजार मूल्यको ७० प्रतिशत पुर्याउने
  9. ब्रोकरमार्फत सेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्कालक कार्यान्वयनमा ल्याउने
  10. सेटलमेन्ट ग्यारेण्टी फण्डसँग सम्बन्धित ऐन नियम तत्काल निर्माण गरी कार्यान्वयन गर्ने 
  11. मार्केट मेकर तथा धितोपत्र व्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउने
  12. सर्ट सेलिङ, अन्तर दिन कारोबारको व्यवस्था गरी चाँडो भन्दा चाडो लागू गर्ने व्यवस्था मिलाउने
  13. हाल कायम ३ दिनको राफसाफलाई १ दिन वा कारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्था मिलाउने 
  14. सूचिकृत कम्पनीहरुले प्रदान गर्ने बोनस सेयर वार्षिक साधारणसभा सम्पन्न भएको ७ दिन र हकप्रद सेयर बाँडफाँड भएको ७ दिनभित्र सूचिकृत गर्ने व्यवस्था गर्ने 
  15. डिबेञ्चर तथा बोण्ड मार्केटलाई व्यवस्थित तथा तरल बनाउने
  16. फाइनान्सियल डेरिभेटिभको कारोबार संचालनमा ल्याउने ।