काठमाण्डौ । सेयर बजारमा बुधबार पनि सुधार भएन । घट्ने तीव्र क्रम केही थामिएसँगै कारोबार रकम केही बढेको छ । नेप्से परिसूचक ७.१९ अंकले घटेर १४०६.५२ को विन्दूमा सीमित बन्न पुगेको हो । 

अधिकांश लगानीकर्ता सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासिक विवरणको पखाईमा छँदा र बजारमा तरलता समस्या निकै चर्किएको हल्ला व्याप्त हुँदा बजार घटेको देखिएको छ । 

यो दिन माइक्रोफाइनान्स समूह बाहेकका अन्य सबै समूहमा गिरावट आयो । माइक्रोफाइनान्स समूह ४.०१ अंकले बढ्यो । बैकिंग समूह ७.१७ अंकले घट्यो भने विकास बैंक समूह ७.२, जलविद्युत समूह १५.१७ अंक, होटल समूह ७.८१, बित्त समूह २.९४, बिमा समूह ०.८, उत्पादनमूलक समूह २.४१ र अन्य समूह १०.७४ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स १.५५ अंकले घट्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५ अंकको गिरावट भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ९ लाख ७९ हजार १ सय ९६ कित्ता सेयर  ४० करोड ४८ लाख ६७ हजार ४ सय ६७ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी सानिमा माई हाइडोवले १२ करोड २० लाख बढीको कारोबार गर्यो । यस्तै, नबील बैंकले २ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ३३ लाख, एशियन लाइफ इन्स्योरेन्सले १ करोड १८ लाख, सिटिजन्स बैंक इन्टरनेशनलले १ करोड १ लाख, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १ करोड बढीको कारोबार गरे । कुमारी बैंकले ९० लाखको कारोबार  गर्दा सानिमा बैंकले ८६ लाख र बुटवल पावर कम्पनीले पनि ८६ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आरएसडिसी लघुवित्त बित्तीय कम्पनीले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ५.२७ प्रतिशतको बढोत्तरी भयो । सिन्धु विकास बैंकको मूल्य समेत ४ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन अपी पावर कम्पनीको मूल्य ३.५७, ललितपुर फाइनान्सको मूल्य ३.४६, कुमारी बैंकको संस्थापक सेयरको मूल्य ३.३३ प्रतिशतले घट्यो ।