काठमाण्डौ । करिब तीन महिनादेखि ‘साइड वेज’ मा डौडिएको नेप्से इन्डेक्स दुई दिनयता बटम लाइन क्रस गर्दै ‘ग्रिन जोन’ तिर अगाडि बढेको छ । यसले बजार अब ‘बुल’ हुने संकेत गरेको भन्दै लगानीकर्ताहरु उत्साहित हुन थालेका छन् ।

एक सेयर प्राविधिक विश्लेषकले आइतबारको नेप्से इन्डेक्सलाई नै अन्तिम ‘बटम लाइन’ रहेको संकेत गर्दै सोमबारबाट बजार बढ्नुपर्ने भनेर गरेको प्रक्षेपणले बुधबार पनि निरन्तरता पाएको छ । बैंकिङ सेक्टरको ठूलो मात्रामा सेयर चलखेल गर्न नसकिरहेका लगानीकर्ताहरु झुन्ड झुन्ड समूह बनाएर जीवन बिमा, हाइड्रोपावर र लघुवित्तजस्ता कम आपूर्ति भएका सेयरमा झुम्मिएका छन् ।

आजको दिन नेप्से परिसूचकमा ८.७३ अंकको बढोत्तरी आएको छ भने सेन्सेटिभ इन्डेक्स १.५२ अंकले बढेको छ । त्यस्तै फ्लोट इन्डेक्स ०.५१ अंकले वृद्धि भएको छ ।

आजको दिन नेप्सेका १२ वटै उपसमूह हरियाली छाएको छ । यो दिन उपसमूहमध्ये जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त समूहको सबैभन्दा बढी क्रमशः १४२.९१, १०१.६५ र ३३.०४ अंकले वृद्धि भएको छ । यसैगरी बैंकिङ, व्यापार, होेटेल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फन्डको क्रमशः २.९६, २.५९, ४.१, १०.५५, ३.०४, २, २.४१, ५.६१ र ०.०९ अंकले वृद्धि भएको छ ।

धेरै कारोबार गर्ने कम्पनी

आजको दिन बजारमा सूचीकृत कम्पनीहरुमध्ये १६९ कम्पनीका ९ लाख ९० हजार २७४ कित्ता सेयर ३० करोड ८२ लाख १४ हजार ४६५ रुपैयाँमा किनबेच भयो ।

यो दिन ६ वटा कम्पनीका कारोबार करोड क्लबमा पर्न सफल भयो । जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरले २ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार गर्यो । त्यस्तै एनआईसी एसिया बैंक, एनएमबी बैंक, हिमालयन डिस्टिलरी, जनउत्थान सामुदायिक लघुवित्त र एभरेस्ट इन्स्योरेन्स कम्पनीका सेयरले क्रमशः १ करोड ९३ लाख, १ करोड ७२ लाख, १ करोड ६६ लाख, १ करोड ५४ लाख र १ करोड १७ लाख रुपैयाँबराबरको कारोबार गरे ।

यसैगरी करोडभन्दा मुनि नेपाल बैंक, नबिल बैंक, इन्फिनिटी लघुवित्त र लक्ष्मी बैंकका सेयरले क्रमशः ९७ लाख २२ हजार, ७० लाख ९६ हजार, ५० लाख ७६ हजार र ५० लाख ७६ हजार रुपैयाँबराबरको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी

आजको दिन बजारमा प्रभु इन्स्योरेन्सका सेयरधनीहरुले सबैभन्दा बढी कमाए । यो कम्पनीको सेयरमूल्यमा ८.५० प्रतिशतले वृद्धि भयो । त्यसैगरी गुराँस लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स, महिला सहयात्री लघुवित्त, स्वरोजगार लघुवित्त, सिभिल लघुवित्त र दिव्यश्वरी हाइड्रोपावरका सेयरमूल्यमा पनि क्रमशः ७.८५, ७.७१, ७.७१, ७.७१, ७.६९ र ७.५५ प्रतिशतले वृद्धि भयो ।

यो दिन वरुण हाइड्रोपावर र घोडीघोडा लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए । यी दुवै कम्पनीको सेयरमूल्यमा क्रमशः ७.९५ र ५.०१ प्रतिशतले गिरावट आयो ।