काठमाण्डौ । नेप्सेले प्रक्रिया पूरा गरी आएका बैंकहरुका सहायक कम्पनीलाई सेयर ब्रोकरेज सेवा संचालनको लाइसेन्स दिनका लागि बोर्डमा सिफारिस गर्न थाल्ने खबर बाहिरिएसँगै सकारात्मक गतिमा दौडिएको बजार मंगलबार भने स्थिर देखिएको छ । 

बैंकका सहायक कम्पनीले समेत ब्रोकर लाइसेन्स पाई पूँजीबजारको विकास र बिस्तार हुने र बजारले गति लिने आशासहित लगानीकर्ताहरु केही उत्साहित देखिँदा सोमबार बजारमा सुधार भएको थियो । सधारको यो श्रृंखला मंगलबार पनि जारी रह्यो, तर झिनो अंकले मात्र । 

मंगलबार ०.९६ अंकले बढेर नेप्से परिसूचक १२६१.०७ को विन्दूमा फर्किएको छ । 

यो दिन पनि राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.०६ अंकको सुधार देखिएको छ । 

यो दिन बैंकिङ समूह १.३९ अंकले बढेको छ भने जलविद्युत समूह १.०२, निर्जीवन बिमा समूहमा ५.३१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १९.९५ अंक, माइक्रोफाइनान्स समूहमा २.२३ अंक र जीवन बिमा समूहमा ०.३ अंकको बढोत्तरी भयो । 

ट्रेडिङ समूह २.६२ अंकले घटेको यो दिन होटल  समूहमा २१.२५ अंक, विकास बैंक समूहमा ०.५२, बित्त समूहमा ०.७, अन्य समूहमा १.४ र म्युचुअल फण्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा अघिल्लो दिनको भन्दा कम कारोबार भएको छ । १७४ कम्पनीका १३ लाख २४ हजार ५१९ कित्ता सेयर ३६ करोड ४७ लाख ७३ हजार ३३० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले सबैभन्दा बढी २ करोड ५३ लाख बढीको कारोबार गरेको छ । 

प्रभू बैंकले २ करोड २८ लाख बढीको कारोबार गरेको यो दिन शिवम सिमेन्टले १ करोड ९१ लाख, नेपाल बैंकले १ करोड ७९ लाख, सिद्धार्थ बैंकले १ करोड ३६ लाख बढीको कारोबार गरेका छन् । 

मुक्तिनाथ विकास बैंकको  १ करोड ३६ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन कैलाश विकास बैंकले १ करोड १२ लाख, कृषि विकास बैंकले १ करोड ४ लाख, एनआइसी एशिया बैंकले १ करोड २ लाख र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ९७ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
अघिल्लो दिन झै यो दिन पनि गणपति माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेका कारण पोजिटिभ सर्किट लाग्यो । 

यस्तै, मल्टिपर्पस फिनान्सको सेयरमा मंगलबार पनि सोमबार झै नेगेटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो।