काठमाण्डौ । नियामक निकायका अधिकारीहरु बजार घट्नुपर्ने कुनै कारण छैन भन्दा भन्दा थाकिसके । बजार विश्लेषकहरु समेत बजार निरन्तर घटिरहने कारण ठम्याउन सक्दैनन् । बजारमा उछालको गति सुरु हुने प्रक्षेपण गर्दै उनीहरु गिरावटको प्रवृति धेरै नरहने दाबी गरिरहन्छन् । झट्ट हेर्दा केही बाहेक अधिकांश कारण तथा परिस्थिति बजार अनुकूल नै देखिन्छ । तर पनि दैनिकजसो बजार घटिरहेको छ । यही क्रममा लामो समयसम्म झिनो अंकले घटबढ भइरहेको सेयर बजारमा आइतबार भने एकाएक दोहोरो अंकको पहिरो गएको छ । 

बजारलाई घटाएर न्यून विन्दूमा झार्ने संगठित प्रयास गरिरहेका गिरोहहरु पछिल्लोकालमा सफल बन्दै गएका देखिएको छ । बिजशालाले यसअघि नै बजार बढ्छ भनेर आर्टिकल लेख्ने लेखकहरुलाई केही गिरोहले धम्क्याएको समाचार सार्वजनिक गरिसकेको छ । त्यस्ता गिरोहहरुको चलखेललाई नियामक र अन्य सरोकारवाला निकायहरुले समेत मौन समर्थन गरिदिंदा अवस्था दिनप्रतिदिन भयावह बन्दै गइरहेको देखिएको छ । 

यो दिन नेप्से परिसूचक १६.६९ अंकले घटेर ११६३.९४ विन्दूमा सीमित बन्न पुगेको हो । बजारमा ‘क’ वर्गका कम्पनीहरुमा उच्च बिक्री चाप देखिएको छ । यहीकारण ‘क’ वर्गका कम्पनीका कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.४३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.२६ अंकले घट्यो । 

यो दिन जीवन बिमा कम्पनीको उपसूचकमा पहिरो गएको छ । यो समूहको उपसूचक १९३.३७ अंकको पहिरो गएको हो । यस्तै, निर्जीवन बिमा समूह १०५.७४ अंक, उत्पादनमूलक ६३.५८ अंक, माइक्रोफाइनान्स समूह ३१.५३ अंक, जलविद्युत समूह २१.१९ अंक, विकास बंैक समूह १३.२२, बैंकिंग समूह ११.८७ अंकले घट्यो । बित्त समूह ३.५९ अंकले घट्यो भने अन्य समूह ४.७२ अंकले घट्यो । 

व्यापार समूहको सूचक २.११ अंकले बढेको छ भने होटल समूह ६.७३ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी कारोबार गर्यो । यो दिन यो कम्पनीको ३ करोड ७५ लाख बढीको कारोबार गरेको हो । नेपाल लाइफको दश प्रतिशत संस्थापक शेयर साधारणमा परिणत भएपछि यसको शेयरमूल्य घटेर कारोबार भएको हो । 

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १ करोड ८ लाख, नेपाल बैंकल ६४ लाख, नवील बैंकले ५७ लाख, ग्लोबल आइएमई बैंकले ५३ लाख, चिलिमे हाइडोले ५० लाख, नेशनल लाइफले ४८ लाख, एभरेष्ट बैंकले ४७ लाख, इन्भेष्टमेन्ट बैंकले ४६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ३.८७ प्रतिशतले वृद्धि भयो । साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य ३.५७ प्रतिशतले बढ्यो । 

यो दिन ४ कम्पनीको सेयर मूल्यमा पहिरो गयो । मल्टी पर्पोज फाइनान्सको मूल्य १० प्रतिशतले घट्यो भने सपोर्ट माइक्रोफाइनान्स र नेरुडे लघुवित्तका लगानीकर्ताले समेत १० प्रतिशतकै हाराहारीमा सम्पत्ति गुमाए ।