काठमाण्डौ । साताको दोश्रो दिनदेखि बढ्न थालेको बजार मंगलबार पनि त्यही लयमा कुदेको छ । बजारमा बिस्तारै डाउनट्रेण्डको अन्त हुने विश्लेषकहरुको भनाई, बजार घट्ने कारणबिना नै अनावश्यक चलखेलबाट घटाइएको नियामक निकायहरुका जिम्मेवार अधिकारीहरुको भनाई लगायतका कारणले बजार बढ्न थालेको देखिएको छ ।

कतिपय नियामक निकायका अधिकारी, बजारका विज्ञहरुले समेत बजार घट्नुपर्ने कुनै कारण नभए पनि केही गिरोहहरुले घटाइरहेको भन्दै अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् । यस्तो बेलामा केही नियामकका प्रमुखहरुले बजार निरन्तर घटाउने चालबाजी भइरहे आफूहरु चूप लागेर नबस्ने चेतावनी समेत सार्वजनिक रुपमा दिइसकेका छन् । 

नियामकका अधिकारीहरुको यस्तो चेतावनीले बजारमा चलखेल गर्ने र सर्वसाधारण लगानीकर्तालाई फसाउने गिरोहहरु तर्सिएका हुनसक्ने विश्लेषक बताउँछन् । 

पछिल्लो समय बजार निरन्तर घटाउन चलखेल गर्नेमाथि नियामक निकायले समेत नजानिँदो शैलीमा निगरानी बढाएका छन् । यस्तै, ब्याजदर घटाउन नमान्ने बैंक तथा बित्तीय संस्थाहरुलाई समेत केन्द्रीय बैंकले निरन्तर दवाब दिइरहेको छ । नियामकका यस्ता प्रयासले समेत बजारमा चलखेल गर्ने हच्किन थालेका र योसँगै लगानीकर्तामा बिस्तारै आत्मविश्वास जाग्दै गएको देखिने जानकारहरु दाबी गर्छन् । 

मंगलबार नेप्से परिसूचक ६.६१ अंकले बढी ११८०.९८ को विन्दूमा फर्किएको छ । यो दिन कारोबार रकम पनि करिब २ करोडले बढेको छ । बजारमा परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्दै जानु भविष्यका लागि सुखद संकेत हो । तर, यस्तो प्रवृति एक दिन मात्र होइन, केही दिन निरन्तर रहे मात्र भविष्यमा बजार वृद्धिको लामो यात्रातर्फ उन्मुख छ भन्न सकिन्छ । एकदिनकै प्रवृतिलाई हेरेर बजार अब बढिरहनेछ भन्नु चाहि मूर्खता मात्र हो । 

मंगलबार बजारमा 'क' वर्गका कम्पनीहरुमा खरीद चाप देखियो, यहीकारण सेन्सेटिभ इण्डेक्स १.५६ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.७ अंकले वृद्धि भयो । 

यो दिन होटल समूह १.४१ अंकले घट्यो भने अन्य समूह ३.३९ अंकले घट्यो । बाँकी समूहमा भने बढोत्तरी भएको छ । 

बैंकिंग समूह ६.८७ अंकले बढ्यो भने व्यापार समूह ५.०७ अंक, विकास बैंक समूह १४.८८ अंक, जलविद्युत समूह ६.३४ अंक, बित्त समूह १०.३९ अंक, निर्जीवन बिमा समूह ५०.०१, उत्पादनमूलक ६.६१ अंक, माइक्रोफाइनान्स १५.६ अंक र जीवन बिमा समूह १३.०१ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ७ लाख ३२ हजार ७ सय २५ कित्ता सेयर १८ करोड ९५ लाख ८६ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भयो । 

कमालको वित्तीय विवरण पस्किएको नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी ८५ लाख बढीको कारोबार गर्यो । 

यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सले ८० लाख, ओभ डेभलपमेन्ट बैंकले ७६ लाख, प्राइम कमर्सियल बैंकले ६९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६३ लाख, सगरमाथा इन्स्योरेन्सले ५९ लाख, नवील बैंकले ५७ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनसीसी बैंकले ४८ लाख र एभरेष्ट बैंकले ४७ लाखको हाराहारीमा कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले नै सबैभन्दा बढी कमाए । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । हिमालयन डिस्टीलरी लिमीटेडको सेयर मूल्य ८.३१ प्रतिशतले बढ्यो । 

यो दिन सबैभन्दा बढी मल्टीपर्पोस फाइनान्स कम्पनीले गुमाएको छ । यो कम्पनीको सेयर मूल्य ५.३६ प्रतिशतले घट्यो ।