काठमाण्डौ । दशैंतिहार र छठजस्ता धेरै व्यापार हुने समयमा मात्र व्यापारी व्यवसायीलाई त्रसित बनाउन कार्यान्वयनमा ल्याइने कालोबजार ऐनको सान्दर्भिकता हराएको भन्दै नेपाल चेम्बर अफ कमर्सले यो ऐन खारेजी र मौसमी बजार अनुगमन बन्द गर्न आग्रह गरेको छ । 

चेम्बरले एक विज्ञप्ति प्रकाशित गरी वर्षभरिकै कारोबारको ४० प्रतिशत भन्दा बढी व्यापार हुने चाडपर्वको समयमा सरकारी निकायबाट हुने गरेको बजार अनुगमनको नेपाल चेम्बर अफ कमर्सले विरोध गरेको हो । 

दशैतिहार तथा छठ जस्तो चाँडको पूर्व सन्ध्यामा सरकारले बजार अनुगमनको क्रममा व्यवसायीहरुको कारोवार स्थलको सिलबन्दी गरेको, लामो समयसम्म सिलबन्दी गरिराखेको र सोको परिणामले व्यवसायीहरु नै बिस्थापित हुनुपर्ने परिस्थिति सिर्जना हुन लागेको भन्दै आपत्ति जनाएको हो । 

बजार अनुगमनको क्रममा कानूनी प्रक्रियाका अन्य बिकल्पहरु हुंदाहुंदै पनि दशैतिहार जस्तो व्यवसायीहरुको कारोवारको अत्यन्त महत्वपूर्ण समयमा सरकारद्धारा संकिर्ण मानसिकता र सस्तो लोकप्रियताका लागि गरिएका यस्ता कार्यबाहीले व्यवसायीहरु हतोत्साही र निरुत्साहित बन्नु परेको चेम्बरको निश्कर्ष छ । 

एकातर्फ उपभोक्ताहरुले आफ्नो छनौटका बस्तुहरु खरिद गर्न बञ्चित भएका छन् भने अर्कोतर्फ पीडित व्यवसायीहरु आफ्नो कारोवारस्थलमा वर्षको एकपटक गर्नैपर्ने लक्ष्मीको पूजा अर्चना समेत गर्न नपाउने अवस्था आएको दाबी गरिएको छ । 

चेम्बरले आफूहरु उपभोक्ताहरुको हकहित संरक्षण तर्फ सदैव सचेत र प्रतिबद्ध रहेको दाबी गर्न समेत भ्याएको छ । अहिले अर्थतन्त्रमा संरचनागत परिवर्तन नै आवश्यक रहेको सन्दर्भमा वस्तु तथा सेवाको मूल्य खुला अर्थतन्त्रमा सरकारले तोकेको वस्तुहरुमाबाहेक अन्य वस्तुहरुमा  माग तथा आपूर्तिले निर्धारण गरिने हुंदा कालोबजार ऐनको कुनै सान्दर्भिकता नरहेको पनि चेम्बरको प्रष्टोक्ति छ ।

व्यवसायिक बातावरणको निर्माणमा सरकार अझै उदासीन रहने हो भने सम्पूर्ण उद्योग व्यवसाय बन्द गरी बिरोध गर्नुको बिकल्प नरहेको विज्ञप्तिमा उल्लेख छ।