काठमाण्डौ । सेयर लगानीकर्ताका नेताहरु विषम परिस्थितिमा पनि सेयर कारोबार खुलाइएको भन्दै बजार बन्दको माग लिएर अर्थमन्त्रालय जाने भएका छन् । 

उनीहरुले प्रधानमन्त्रीको सम्बोधनमै अत्यावश्यक सेवा दिने क्षेत्र बाहेक बन्द हुने भनिएको र सेयर बजार समेत अत्यावश्यक क्षेत्रमा नपर्ने भएकोले स्वतः बजार बन्द गराउनुपर्नेमा त्यसमा नेप्सेले गडबड गरेको भन्दै बजार बन्दका लागि दवाब दिने उद्देश्यले अर्थमन्त्रालय जाने निर्णय गरेका हुन् । 

उनीहरुले बिहान संयुक्त अपील जारी गर्दै लगानीकर्ताहरुलाई सेयर कारोबार सहभागी नहुन आग्रह गरेका थिए । प्रमको सम्बोधनविपरीत बजार खुलाइए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका लगानीकर्ताहरुले बजार खुलाउने सूचना पाएपछि नेप्से पुगेका थिए । त्यहाँ उनीहरुले कडा सुरक्षा घेराबीच नेप्से प्रमुख चन्द्रसिंह साउदसँग छलफल गरेका थिए । चर्काचर्कीबीच चलेको छलफल निश्कर्षमा पुग्न सकेन । साउदले बजार बन्द नहुने अडान लिएपछि लगानीकर्ताका नेता बाहिरिएका थिए । 

त्यसपछि भने उनीहरुले अर्थमन्त्रालयको ढोका ढकढक्याउने निर्णय गरेका हुन् । एक नेताका अनुसार उनीहरुलाई केहीबेरपछि भेटघाटका लागि अर्थसचिव शिशिर ढुंगानाले अर्थमन्त्रालयमा बोलाएका छन् । त्यहाँ गएर आफूहरुले सेयर बजार बन्द गराउन माग राख्ने बताएका छन् । 

लगानीकर्ताका नेताहरु बजार बन्द गराउने अभियानमा रहे पनि दोश्रो बजारमा कारोबार भने चलिरहेको छ । बजार खुलेको १ घण्टा १५ मिनेटसम्ममा ३.६९ अंकले नेप्से घटेको छ । यो अवधिसम्म २५ लाखको मात्र कारोबार भएको छ । अनलाइन यूजर लिने केही मात्र कारोबार गरिरहेको देखिएको छ ।