काठमाण्डौ । बजारलाई घटाएर फाइदा लुट्ने समूह फेरि सक्रिय भई लगानीकर्तामा हौवा फिजाएपछि बजार पुनः पुरानै लयमा फर्किएको छ । साताको पहिलो ३ दिन दोहोरो अंकले बढेको बजार बुधबारदेखि दोहोरो अंकले नै घट्न थालेको थियो । सर्टटर्म कारोबारी बजारमा हाबी हुँदा बढेको समयमा थोरै भए पनि नाफा बुक गर्ने दौडले बजार घटाएको भनिए पनि बजार घटाउन सक्रिय गिरोहको चलखेल बढेको स्रोतहरु बताउँछन् । यो गिरोहले लामो समयदेखि आफूले चाहेको समयमा बजार घटाउने र बढाउने खेल खेलिरँहदा समेत नियामक निकायहरुले मौनता साध्दै आएका छन् । 

साताको अन्तिम कारोबार दिन पनि कुनै कारणबिना सुनियोजित रुपमा बजार १५.७३ अंकले घटाइएको छ । बढेर १५ सय माथि पुुगेको बजार घटेर १४८९.०६ अंकमा झरेको छ । 

बिहीबार धेरै बिमा कम्पनीहरुले राम्रै प्रगति विवरण सार्वजनिक गरेका छन् । त्यसको सकारात्मक प्रभाव बिमा समूहमा पर्नुपर्नेमा त्यो समेत देखिएन । 

यसमा लगानीकर्ताहरुमा बजारको बिषयमा पर्याप्त ज्ञान नहुनुु नै प्रमुख कारण देखिन्छ । लगानीकर्ताहरुले ब्रोकर वा अरुले भनेअनुसार सेयर खरिदबिक्रीको निर्णय लिंदा समेत त्यस्ता गिरोहहरुले आफूू अनुकुल बजारलाई डोहोर्याउने गरेका छन् । यसकारण समेत बजार वा कम्पनीको बिषयमा विश्लेषण गर्ने र बुुझ्नसक्ने क्षमता लगानीकर्ताले आफूूमा विकास गर्नुपर्ने देखिन्छ । अरुकै भरमा लगानी गर्दा लगानीकर्ताले चाहे अनुसारको न रिटर्न पाउँछन्, न उनीहरुको हित नै हुन्छ । 

बुधबारको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजार परिसूचक र कारोबार रकम दुवैमा समानान्तर ढंगले गिरावट आउनुु भविष्यका लागि राम्रो संकेत होइन । नेप्से परिसूचकसँगै कारोबार रकम घट्नुुले बजारमा खरीदकर्ता सकिँदै गई बिक्रीको चाप बढेको देखिन्छ । 

पहिलो ३ दिन हराभरा भएको बजारमा बिहीबार रातो पोतियो । बैकिङ समूहको सूचकमा १४.८१(१.१५ प्रतिशत)अंकको गिरावट देखियो । बिमा समूह ६९.३३ अंकले घट्यो भने विकास बैंक, माइक्रोफाइनान्स, बित्त समूह क्रमशः २६.५८ अंक, १३.७८ र ४.८९ अंकले घटे । यस्तै, जलविद्युत समूह २४.१५ अंक, होटल समूह ५२.१७ अंक, उत्पादनमूलक २४.६९, अन्य समूह ३.७६ र ट्रेडिङ समूह १.६ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा मन्दी आउँदा सेन्सेटिभ इण्डेक्स ३.३३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत १.१९ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ९ लाख ३० हजार ४ सय ४७ कित्ता सेयर ४४ करोड १० लाख ५ हजारमा खरीदबिक्री भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५९ लाख बढीको कारोबार गर्यो । एभरेष्ट
बैंकले २ करोड २२ लाख, चिलिमे हाइडोले १ करोड ८९ लाखको कारोबार गर्यो भने नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४७ लाख बढीको सेयर किनबेच भयो । लाइफ इन्स्योरेन्स कम्पनी नेपालले १ करोड २४ लाख, शिखर इन्स्योरेन्स कम्पनीले १ करोड १४ लाख, नेपाल ग्रामीण विकास बैंकले १ करोड ७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरी लिमीटेडले कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । ङादी ग्रुप पावर लिमीटेड र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । मल्टीपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्यमा पनि ५ प्रतिशतकै हाराहारीले वृद्धि भयो ।