काठमाण्डौ । बजेटअघिको सेयर बजारमा ‘सुखद संकेत’ देखिएको छ । बजेट प्रस्तुत हुनुभन्दा एकघण्टा अघि बन्द भएको बजारले ‘सुखद संकेतहरु’ छाडेको हो । 

यो दिन नेप्से परिसूचक ८.३९ अंकले बढेर १३१३.८८ को विन्दूमा पुगेको छ भने कारोबार रकम बढेर ९० करोड माथि पुगेको छ । 

बजार मापन गर्ने इण्डेक्स र कारोबार रकम(टर्नओभर) एकसाथ उकालो लाग्नु बजारको भविष्यका लागि सुखद संकेत मानिन्छ । विगत केही दिनदेखि १३०० र त्यसकै आसपासमा घुमिरहेको बजारमा बुधबार देखिएको संकेत केही दिन निरन्तर रहे यसले वृद्धिको यात्रामा टेवा पुग्ने बजार विज्ञहरुको धारणा छ । इण्डेक्स र टर्नओभरको समानान्तर वृद्धि यात्रा केही दिनसम्म जारी रहे बजारमा बुल रन सुरु हुने समेत कतिपय धारणा राख्छन् । 

यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स २.११ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स भने ०.६६ अंकले बढेको छ । 

लगानीकर्तामा बजेटले बजारमा अन्यौलको रुपमा रहेको करको विषयमा प्रष्ट व्यवस्था गर्ने आशा बढेको देखिएको छ । यस्तै, गत बजेटमा सेयर बजारप्रति अनुदार देखिएका अर्थमन्त्री यो पटक भने उदार हुने चर्चाका कारण समेत लगानीकर्तामा विश्वास बढेको देखिन्छ । 

यो दिन ट्रेडिङ र जीवन बिमा समूह बाहेकका सूचक हराभरा भए । ट्रेडिङ समूह २.७९ अंकले घट्यो भने जीवन बिमा समूहमा ६०.२४ अंकको गिरावट देखियो । 

बैंकिङ समूह ७.०७ अंकले बढेको यो दिन होटल समूह ५.०२ अंकले बढेको छ । यसैगरी, विकास बैंक समूह ७.५९ अंक, जलविद्युत समूह २७.५९ अंक, बित्त समूह ७.९१ अंक, निर्जीवन बिमा समूह १०.८३ अंक, उत्पादन तथा प्रशोधन समूह १००.४६ अंक, माइक्रोफाइनान्स समूह ७.४५ अंक, अन्य समूह २.४२ अंक र म्युचुअल फण्ड समूह ०.०४ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७३ कम्पनीका २६ लाख २८ हजार ४२० कित्ता सेयर ९० करोड ८ लाख ५ हजार ९६० रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी शिवम सिमेन्टले २० करोड ४० लाख बढीको कारोबार गरेको छ भने प्रभू बैंकले ८ करोड ४३ लाख, अपर तामाकोशीले ८ करोड १५ लाख, नेपाल बैंकले ३ करोड ७४ लाख, कृषि विकास बैंकले २ करोड २८ लाख, यूनाइटेड इन्स्योरेन्सले २ करोड ११ लाख, एलआइसी नेपालले २ करोड ५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ९० लाख, मेगा बैंकले १ करोड ७९ लाख र नेपाल टेलिकमले १ करोड ७८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तीनवटा कम्पनीका लगानीकर्ताको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । हिमालयन डिस्टीलरी, स्पर्श लघुवित्त, हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो । 

जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य घटेर यो दिन ९४ रुपैयाँमा सीमित बन्न पुगेको छ । मंगलबार बढेर सर्किट हानेको ज्योति विकास बैंकको सेयर मूल्य ४.२४ प्रतिशतले घट्यो भने बम्पर लाभांश घोषणा गरेको एलआइसी नेपालको सेयर मूल्यमा समेत ४.२० प्रतिशतको गिरावट देखियो ।