-प्रकाश बञ्जारा
यूएई । अर्थमन्त्री डाः युवराज खतिवडाले मंगलबार सदनमा पेश गरेको नयाँ आर्थिक वर्षको बजेटप्रति युएईका अधिकांश प्रवासी नेपाली आशावादी देखिएका छन् । तथापि कतिपय नेपालीले भने सरकारले घोषणापत्र अनुरुप महत्वकांक्षी बजेट प्रस्तुत नगरेको बताए पनि प्रवासी नेपालीलाई स्वदेश फर्किएर सीपअनुसारको व्यवसायमा १० लाखसम्मको ऋण बिनाधितो दिने लगायतका नीतिको भने धेरैले स्वागत गरेका छन् । 

बजेटकै सन्दर्भमा बिजशालासँगको कुराकानीमा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका केन्द्रीय सदस्य ओमप्रकाश पोख्रेलले सरकारमा रहेका पार्टीले चुनावी घोषणापत्रमा बाँडेका सपना बमोजिम बजेट नआएको बताए । चुनावको बेला पानी जहाज, घरघरमा ग्याँस पाइप, गाउँगाउँमा वाईफाई जस्ता घोषणा लिएर चुनाव जितेका पार्टीका सरकारले बजेट भने सो अनुरुप नआएको टिप्पणी पोखरेलको छ । 

सुन तस्करी काण्डले देशमै उद्युम मच्चाइरहेको बेला कर तिरेर १०० ग्राम सुन पैठारी गर्न पाउने कानुनले तस्करीलाई नै फाईदा पुग्ने पोख्रेलको भनाई छ । “मध्यमस्तरको तलव खाने श्रमिकले त्यति ठूलो मात्रामा काचो सुन भन्सार तिरेर लानसक्दैन, यो सरासर तस्करलाई फाइदा पुग्ने व्यवस्था भयो ।’ उनले भने । 

सीप र दक्षताको आधारमा बैदेशिक रोजगारीबाट फर्किएका युवालाई ऋण दिने कुरा भने सकारात्मक रहेको पोख्रेल बताउँछन्, तथापि नाता र पहँुचको आधारमा दुरुपयोग हुने सम्भावना समेत रहेको उनको ठम्याई छ । 

 बिजशालासँग कुरा गर्दै सेञ्चुरी कमर्सियल बैंकका लागि युएईका प्रमुख नविन पौडेलले बैकिङ्ग आँखाबाट हेर्दा बजेट आशावादी र सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘एक बर्षमा सबै नेपालीको बैंक खाता हुने साथै सम्पूर्ण आर्थिक कारोबार बैंक च्यानलमार्फत हुने कार्यक्रम राम्रो छ ।’ पौडेलले भने । 
भन्सार तिरेर १०० ग्रामसम्म काँचो सुन लान पाउने गरी खुल्ला गरिएको नीतितर्फ इंगित गर्दै पौडेलले सरकारले भन्सार उठाएर आफ्नो आम्दानीको बाटो खोलेको बताए । बैधानिक रेमिट्यान्सका सम्बन्धमा सरकारले बजेट मार्फत विप्रेषणलाई बैधानिक च्यानलबाट ल्याउन प्रोत्साहन गर्ने भनेको भएता पनि कस्तो खालको प्रोत्साहन भन्ने बारेमा नीति मौन देखिएको उनको भनाई छ । “बैंक खातामा रेमिट्यान्स पठाउनेलाई राम्रो ब्याज दिने अथवा रेमिटरलाई अन्य सुविधा दिने जस्ता कार्यक्रम आउनुपर्ने खाँचो छ।” पौडेल भन्छन् । 

स्वरोजगार कार्यक्रमका साथै सीप र दक्षताको आधारमा बैदेशिक रोजगारबाट फर्किएका  नेपालीलाई व्यवसायका लागि ऋण उपलब्ध गराउने योजना राम्रो रहेको, तर कसरी लागू हुन्छ भन्ने कुरा महत्वपूर्ण रहेको पौडेलको भनाई छ । 

यसैगरी, युएई एक्सचेञ्जका नेपालतर्फका करिडोर मार्केटिङ्ग प्रमुख सन्तोष प्रसाईले समग्रमा बजेट सकारात्मक भएको प्रतिक्रिया दिए । सबै नेपालीलाई बित्तीय पहँुचमा ल्याउनुका साथै सिप विकास तालिम सञ्चालन गरेर दक्ष श्रमिकलाई मात्र वैदेशिक रोजगारीमा पठाउने कार्यक्रम लागू भए बैदेशिक रोजगारीमा आउने कामदार खुसी र सन्तुष्ट हुने प्रसाईको भनाई छ  । युवा स्वरोजगार कार्यक्रमका साथै विदेशमा सिप सिकेर आएका नेपालीलाई व्यवसायमा सहुलियत दिँदै ऋण दिनु सकारात्मक रहेको उनले बताए । “हामीकहाँ हस्पिटालिटि, टुरिजम लगायतका क्षेत्रमा काम गरेर अनुभव कमाएका थुप्रै युवाहरु छन्, जसले नेपालमा गएर पर्यटनमुखी व्यवसायमा ढुक्कले लगानी गर्न सक्छन् ।” पर्यटनमा सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष्यतर्फ इंगित गर्दै प्रसाईले भने । सबै प्रदेशबाट श्रम स्वीकृति दिने योजना सकारात्मक भएता पनि सरकारले पहिल्यै घोषणा गरेको विदेशमा रहेका नियोगबाट समेत श्रम स्वीकृतिको काम हुनुपर्ने धारणा व्यक्त गरे । 

बजेटमा समावेश गरिएको विप्रेषण बैंकबाट भित्राउन पहल गरिने तथा विदेशबाट सिप सिकेर देशमा व्यावसाय गर्न चाहानेलाई ऋण दिने नीतिको बिषयमा बोल्दै हिमालयन बैँकका लागि युएई प्रतिनिधि रामिल प्रधानले हिमालयन बैँकले पहिल्यैदेखि आफ्ना ग्राहकलाई एसएमई ऋण योजना अन्तर्गत ५ लाखसम्म ऋण दिइरहेको बताए । 

उता, काभ्रे स्थायी घर भई युएईको अबुधावीमा एउटा रियरस्टेट कम्पनीमा काम गर्दै आएका महेश थापा सरकारले ल्याएको बजेट जनताले सोचेजस्तो नआएको बताउँछन् । बजेटमा भनिएजस्तो विदेशबाट फर्किएका युवालाई व्यवसाय गर्न १० लाख रुपैयाँसम्म ऋण दिने नीति राम्रो भए पनि कानुनी झण्झट र सरकारी काममा हुने ढिलासुस्तीले कार्यान्वयन हुनेमा शंका उत्पन्न हुने बताए । 

काँचो सुन लान लगाईएको बन्देज हटेकोतर्फ इंगित गर्दै थापाले जरुरी भएकाहरुले भन्सार तिरेर लान पाउने नीति स्वागतयोग्य भएको भएता पनि त्यही बाटोबाट तस्करी मौलाउनसक्ने आँकलन थापाको छ । सरकारले करको दायरा फराकिलो बनाउनुका साथै अनावश्यक विदेशमा नियोगहरु बन्द गर्ने नीति ल्याउनु बजेटको राम्रो पक्ष भएको समेत थापाको ठम्याई छ । 

अर्का, नवलपरासी घर भई युएईको दुवईमा रोजगारी गर्दै आएका बलराम लामिछाने सरकारले प्रत्तुत गरेको बजेट राम्रो भएको टिप्पणी गर्छन् ।

सरकारले बोलेजस्तै कार्यान्वयन भए विदेशमा रहेका नेपाली स्वदेश फर्किएर आफ्नै माटोमा पौरख गर्नसक्ने लामिछानेको ठम्याई छ । मोरङ्ग घर भई युईएको दुवईमा रोजगार गर्दै आएका सुमनबाबु चौहान पनि बजेट सकारात्मक भएको धारणा राख्छन् । चौहानको बिचारमा सरकारी बजेट  नीतिअनुसार विकास हुँदै गए देश बन्न धेरै समय लाग्दैन ।