काठमाण्डौ । पहिलो संघीय बजेट आज अपरान्ह ४ बजे प्रस्तुत हुँदैछ । त्यसअघि अर्थमन्त्री र उनको टिमले तयार गरेको बजेटलाई पारित गर्न दिउँसो २ बजे मन्त्रीपरिषद बैठक बोलाइएको छ । 

मन्त्रीपरिषद बैठकमा अर्थमन्त्रीले बजेटमा समेटिएका बिषयवस्तुहरुको बिषयमा संक्षिप्त रुपमा जानकारी गराउनेछन् । 

क्याबिनेटले बजेटलाई पारित गरेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन् । 

संघीय संसदको पहिलो पूर्ण बजेट भएकाले यसपटक अन्य वर्षभन्दा फरक हुने आँकलन गरिएको छ । बजेट १६ खर्ब आकारको बन्ने बताइएको छ ।

बजेटको एक तिहाइ रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गरिएको छ । कुल बजेटको करिब १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रूपमा पाउने स्रोतले जनाएको छ।

संघीय संरचनामा रुपान्तरित मुलुकको समृद्धिका लागि आवश्यक स्रोतहरु मजबुत बनाउने उद्देश्यले बजेटमा करको दर र दायरा बढाइएको स्रोतहरु बताउँछन् । 

साना योजनालाई कनिका छरे झै बजेट दिएर वितरणमुखी कार्यक्रम ल्याउने यसअघिको परम्परा यसपटक तोडिने विश्वास गरिएको छ । बजेटले समग्र रुपमा समाजवादी अर्थतन्त्र स्थापनाको जग बसाल्ने आशा समेत कतिपयले गरेका छन् । 

कर्मचारीको तलबमा सामान्य वृद्धि, बाम गठबन्धनको घोषणापत्रमा समेटिएका सामाजिक सुरक्षाभत्तामा वृद्धिको साटो बिमाको सुविधा, घरजग्गाको कारोबारमा कडाई, बिलासिताको वस्तुको भन्सार र अन्तशुल्कमा भारी वृद्धि, बैंक तथा बित्तीय संस्थाहरुको नियामक निकायको दक्षता वृद्धिका लागि विशेष कार्यक्रम, सेयर बजारलार्ई गतिशील बनाउने कार्यक्रमको घोषणा, सेयर बजारमा व्याप्त करको अन्यौल चिर्ने कार्यक्रम, मदन भण्डारी राजमार्ग लगायतका ठूला र महत्वकांक्षी आयोजनाका लागि बजेटमा विशेष व्यवस्था लगायतका बिषय यसपटकको बजेटका मुख्य आकर्षण हुने बताइएको छ । 

बजेटमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज हुने, सवारी साधनको करमा वृद्धि लगायतका निर्णय समेत आउने र बजेटले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिने बताइएको छ ।