काठमाण्डौ । सरकारी लगानीका जलविद्युत आयोजनामा जनसहभागिता बढाउने सरकारले बजेटमार्फत घोषणा गरेपछि लगानीकर्ताहरु त्यसतर्फ ओइरिएका छन् । बजेट भाषणको भोलिपल्ट आइतबार दोहोरो अंकले बढेको जलविद्युत समूहको सूचकले सोमबार पनि दोहोरो अंककै वृद्धि हासिल गरेको छ । 

जलविद्युत समूहको सूचक बढे पनि बजेट आउनुअघि लगातार पूँजीबजारलाई माथि उचाल्न अग्रणी भूमिका खेलिरहेका बैंक र बिमा समूहको सूचकमा सोमबार पनि रातो पोतिएको छ । 

सोमबार ८ समूह परिसूचकमध्ये ४ वटामा रातो पोतिए पनि समग्र नेप्से परिसूचक चाहि ४.७१ अंकले उक्लिदै १५२६.९६ अंकमा पुगेको छ । सोमबार १ सय ३३ कम्पनीका १९ लाख ९१ हजार ८ सय ५ कित्ता शेयर १ अर्ब १९ करोड ६० लाख ५१ हजार रुपैयाँमा किनबेच भयो । विगत केही दिनदेखि पूँजीबजारमा कारोबार रकम सधैं एक अर्ब माथि हुँदै आएको छ । 

बजेटमा स्वास्थ्य बिमा, निजी घर बनाउँदा समेत अनिवार्य बिमा गर्नुपर्ने लगायतका नीति ल्याए पनि लगानीकर्ताहरु यसतर्फ आकर्षित देखिएका छैनन् । विश्लेषकहरुले लगानीकर्ताहरु दिविधमा रहेका कारण बिमाको सूचकमा रातो पोतिएको दाबी गरेका छन् । अर्थसमितिबाट हालै पारित बैंक तथा बित्तीय संस्था सम्बन्धी विधेयकमा भएको नयाँ व्यवस्थाका कारण बैंक समूहको सूचकमा पनि रातो पोतिएको विश्लेषकको दाबी छ । 

सोमबार वाणिज्य बैंक समूहले ०.५ अंकको झिनो गिरावट सहनुपर्यो भने विकास बैंक समूहको सूचक ११.८४ अंकले ओर्लियो । बिमा समूहको सूचक ६.६५ अंकले झर्दा होटल समूहको सूचक १३.१६ अंकले ओरालो लाग्यो । 

सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचक १३३.८८ अंकले बढ्यो । सरकारले बजेटमार्फत उत्पादनमूलक उद्योगहरुको पूँजीबजारमा प्रवेशमा विशेष कर छुटको व्यवस्था गरेपछि बजारको प्रतिक्रियाको रुपमा यस्तो परिणाम देखिएको हुनसक्ने विश्लेषकहरुले बताएका छन् । 

बित्त समूह १२.६९ अंकले उक्लियो भने अन्य समूह ९.४ अंकले उकालो लाग्यो । सोमबार सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः १ र ०.१६ अंकले उक्लिए । 

सोमबार बजारमा सबैभन्दा बढी सानिमा बैंकको १० करोड ४३ लाखको शेयर कारोबार भयो भने सिटिजन्स बैंक इन्टरनेशनलले ९ करोड ८१ लाखको कारोबार गर्यो । चिलिमे हाइड्रोपावर कम्पनीको ६ करोड ८२ लाख, नेपाल हाइड्रो पावर कम्पनीको ५ करोड ६७ लाखको सेयर किनबेच भयो । यूनाइटेड इन्स्योरेन्सको ४ करोड ७० लाख बराबरको किनबेच भयो ।