काठमाण्डौ । नेपाल बैंकर्स संघका अध्यक्ष भूवन दाहालले बजेट सही दिशामा केन्द्रीत रहेको प्रतिक्रिया दिएका छन् । 

बिजशालासँग कुरा गर्दै उनले कोरोना भाइरसको प्रकोपका कारण आर्थिक गतिविधि ठप्प रहेको बेलामा सरकारले बढी प्रभावित क्षेत्रहरुको समस्या सम्बोधन हुने गरी बजेट ल्याएको भन्दै खुशी व्यक्त गरे । 

'हामीसँग धेरै ठूलो अपेक्षाहरु छन्, तर तिनलाई सम्बोधन गर्ने स्रोतको अभाव छ । यस्तो बेलामा स्वास्थ्य, कृषि जस्ता क्षेत्रलाई ध्यान दिएर बजेट ल्याइएको छ, जुन सही दिशातर्फ छ ।' दाहालले भने-'रिफाइनान्स लगायतका सुविधा समेत भनेजस्तै आएका छन्, यसले कोरोनाबाट बढी प्रताडितहरुलाई राहात नै महसुस भएको हुनुपर्छ ।' 

उनले बैंकरहरुले डिजिटल पेमेन्टलाई प्रवद्र्धन गर्न पेमेन्ट गेट्वेको माग राखेको र त्यो माग सम्बोधन भएको समेत बताए । 

'वित्तीय क्षेत्रका लागि पनि ठीकै छ । हामीले धेरै अपेक्षा नै गरेका थिएनौं । कृषि कर्जाको संयन्त्रमा हामीलाई पनि जोड्नुहोला, हामी योगदान गर्न तयार छौ भनेका थियौं ।' दाहालले भने-'हाम्रो लाइनकै बजेट आएको छ, खुशी छौ ।' 

बजेट सुखद रहे पनि यसको कार्यान्वयन पक्ष समेत महत्वपूर्ण हुने भन्दै त्यसतर्फ सरकार लाग्नुपर्नेमा उनको जोड छ ।