काठमाण्डौ । साताको पहिलो २ दिनसम्म उछालको गतिमा दौडिएको नेप्से परिसूचकमा मंगलबार भने करेक्सन देखिएको छ । दुई दिनसम्म बजार बढेको मौका छोपेर सर्टटर्म कारोबारी सलबलाउँदा नेप्से परिसूचक १४.६१ अंकले घटी ११६८.१७ को विन्दूमा समेटिन पुगेको हो । 

नेपालको सेयर बजारमा सर्टटर्म कारोबारीको संख्या निकै ठूलो छ । थोरै मात्र बजार बढेर सामान्य नाफा समेत बुक गरिहाल्ने प्रवृतिले मंगलबार बजार घटाउन महत्वपूर्ण भूमिका खेलेको छ । 

यो दिन बजार घट्नुमा नवील, हिमालयन बैंक लगायतले थालेको ब्याज बढाबढको दौड समेत मुख्य कारण देखिएको छ । नवीलले घोषित रुपमै मुद्धती निक्षेपमा १३.५ प्रतिशत ब्याजको अफर गरेपछि यसले सेयर लगानीकर्ताको मनोबल गिराएको देखिएको छ । लगानीकर्तामा बैंकहरुबीच फेरि ब्याज बढाबढको दौड सुरु हुने र यसले बजारलाई अझ तल झार्ने त्रास समेत देखिएको छ । 

यो दिन नेप्से परिसूचकमा दोहोरो अंकको  गिरावट देखिए पनि कारोबार रकम भने बढेको छ । यसको अर्थ नेप्से परिसूचक घट्यो भनेर लगानीकर्ता आत्तिइहाल्नुपर्ने अवस्था छैन । कारोबार रकमले बजारलाई साथ नछाडेकाले बजारमा फेरि हरियालीको समय सुरु हुनसक्छ । 

कतिपय लगानीकर्ता तथा विश्लेषकहरुले मंगलबारको बजार गिरावटलाई चलखेलको संज्ञा समेत दिएका छन् । सोमबार लगानीकर्ताको दवाब समूहले कारोबार बन्द गर्न आह्वान गरे पनि त्यसलाई अवज्ञा गरी केही समूहले लगानीकर्तालाई ध्यान मोड्न सुनियोजित ढंगले बढी सेयर खरीद गरी बजार बढाएका र दवाब समूहले कारोबार बन्दको पूर्व निर्धारित कार्यक्रम फिर्ता लिएसँगै बजार पुनः पुरानै अवस्थामा फर्किएको दाबी समेत गरिएको छ । 

यो दिन उत्पादनमूलक र अन्य समूह बाहेकका समूहमा रातो पोतियो । उत्पादनमूलक ९.३१ अंकले बढेको यो दिन अन्य समूहमा ५.३८ अंकको बढोत्तरी भयो । 

यो दिन बैंकिङ समूह १५.६४ अंकले घट्यो भने विकास बैंक समूह २०.७२ अंक, जलविद्युत समूह १६.१४ अंक, होटल समूह ५.५४ अंक, बित्त समूह ०.३६ अंक, निर्जीवन बिमा समूह १९२.३२ अंक, जीवन बिमा समूह ४९.९३ अंक र माइक्रोफाइनान्स समूह १८.४८ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५९ कम्पनीका १४ लाख ७८ हजार ७ सय २४ कित्ता सेयर ५३ करोड २३ लाख २५ हजार ६ सय ४६ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल बैंकले ५ करोड ९ लाख बढीको कारोबार गर्यो । एनएमबी बैंकले ४ करोड ३४ लाख, एनसीसी बैंकले २ करोड ८१ लाख, शिखर इन्स्योरेन्सले २ करोड ६७ लाख, एनआइसी एशियाले २ करोड ११ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ८३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ६५ लाख, प्रभू बैंकले १ करोड ३९ लाख बढीको कारोबार गरे । 

नवील बैंकको १ करोड ३६ लाख बढीको सेयर कारोबार भएको बजारमा नेको इन्स्योरेन्सले १ करोड २७ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा दोहोरो अंकको करेक्सन आए पनि तीन कम्पनीका लगानीकर्ताले कुस्त कमाए । 

समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले सम्पत्ति बढाएका छन् । सिलिभ लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ । महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ८ प्रतिशतको हाराहारीमा आफ्नो सम्पत्ति बढाएका छन् ।

यो दिन विजय लघुवित्त र रैराङ हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । विजय लघुवित्तको सेयर मूल्य ७.३७ र रैराङको ७.१४ प्रतिशतले घट्यो ।