काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो स्किम सिटिजन्स म्युचुअल फण्ड २ ले आगामी जेठ ९ गतेदेखि इकाईहरुको बिक्री खुलाउने भएको छ । 

सिटिजन्स बैंक इन्टरनेशनलको प्रवद्र्धन र सीबीआइएल क्यापिटल लिमीटेडको व्यवस्थापनमा प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई निश्कासन हुने भएको हो । 

कुल निश्कासन हुने १० करोडमध्ये बिज पूँजीबापत १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निश्कासन हुने बताइएको छ । 

यो स्किमको इकाईमा छिटोमा जेठ १३ गतेभित्र र ढिलोमा असार ८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम १०० देखि अधिकतम २ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । 

यो स्किम ७ वर्षे बन्दमुखी फण्ड हो । यस्ता म्युचुअल फण्डहरुको इकाई दोश्रो बजारमा समेत सूचिकृत भई कारोबारमा आउँछ । दोश्रो बजारमा आइसकेपछि आफूले चाहेको बेला बिक्री समेत गर्न सकिन्छ । 

सीबीआइएल क्यापिटल जस्ता मर्चेन्ट बैंकरहरुले यस्ता फण्डहरुको व्यवस्थापन गर्ने गर्दछन् । उनीहरुले सर्वसाधारणबाट लगानी उठाएर दोश्रो बजारमा व्यवस्थित ढंगले लगानी गर्छन् । दोश्रो बजारको विषयमा जानकारहरुको टिम समेत यस्ता कम्पनीमा हुने हुँदा सर्वसाधारणको लगानी डुब्ने संभावना न्यून हुन्छ । 

विशेष गरी यस्ता म्युचुअल फण्डहरु दोश्रो बजारको विषयमा पर्याप्त ज्ञान नभएकाहरुका लागि लगानीको उत्तम विकल्प समेत हो । तपाईले गर्नुभएको लगानी दोश्रोबजारमै हुन्छ, तर यस्ता इकाईमार्फत । 

पछिल्लो समय दोश्रो बजार बढिरहेकोले म्युचुअल फण्डहरुको नेट एसेट भ्यालू(न्याभ)मा सुधार भइरहेको छ। कम्पनीहरुले बजार बढेसँगै कमाईको रफ्तार समेत बढाएका छन् । बजार वृद्धिको समय सुरु भएकोले समेत यस्ता फण्डहरुमा लगानी गर्नेले राम्रै रिटर्न पाउनेछन् । 

सीबीआइएल क्यापिटलले यसअघि ८२ करोड रुपैयाँ बराबरको सिटिजन्स म्युचुअल फण्ड १ संचालन गरिरहेको छ । यसको न्याभ ९.८९ रुपैयाँ रहेको छ ।