काठमाण्डौ । बजारमा लगानीकर्ताको मनोबल बढ्न थालेको छ । यसकै परिणाम स्वरुप बुधबारदेखि बढ्न थालेको कारोबार रकम बिहीबार अझ माथि पुगेको छ । 

यो दिन नेप्से परिसूचक ०.६१ अंकले बढे पनि कारोबार रकमले बजारलाई बलियो साथ दिंदै गएको देखिन्छ । नेप्से परिसूचक स्थिर अवस्थामा रहनु र कारोबार रकमले फड्को मार्दै जानुले बजारमा निस्क्रिय भएका लगानीकर्ता समेत सलबलाउन थालेका र लगानीकर्ताको सहभागितामा दिनप्रतिदिन वृद्धि हुँदै गएको विश्लेषकहरु बताउँछन् । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा सामान्य बिक्री चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स ०.०२ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.०७ अंकको झिनो गिरावट देखिएको छ । 

यो दिन बैंकिङ समूह ३.४६ अंकले बढेको छ भने उत्पादनमूलक समूहमा ५२.९३ अंकको उछाल देखिएको छ । बाँकी सबै समूहको परिसूचक घटेका छन्, तर झिनो अंकले । 

यो दिन व्यापर समूह ३.७१ अंकले घट्यो भने होटल समूहमा १२.१४, विकास बैंक समूहमा ४.९९, जलविद्युत समूहमा १२.६८, बित्त समूहमा २.८३, निर्जीवन बिमा समूहमा २२.०७, जीवन बिमा समूहमा १२.४५, माइक्रोफाइनान्स समूहमा १६ र अन्य समूहमा ४.५७ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका १३ लाख ३६ हजार ७ सय २० कित्ता सेयर ४४ करोड ७४ लाख ६६ हजार ४ सय ६४ रुपैयाँमा किनेबच भयो । 

यो दिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख बढीको संस्थापक सेयर कारोबार भयो । यस्तै, एनएमबी बैंकले १ करोड ६६ लाख, नवील बैंकले १ करोड ६५ लाख बढीको कारोबार गरे । राष्टिय बिमा कम्पनीको १ करोड ४३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले १ करोड ३९ लाख बढीको कारोबार गर्यो । नवील बैंकको १ करोड ३७ लाखको हाराहारीमा संस्थापक सेयर किनबेच भएको दिन प्राइम कमर्सियल बैंकले १ करोड २७ लाख, बोटलर्स नेपाल(तराई) लिमीटेडले १ करोड २० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
आर्थिक वर्ष २०७४/७५ मा लोभलाग्दो प्रगति गरेको बोटलर्स नेपाल(तराई) लिमीटेडका सेयरधनीले यो दिन कुस्त कमाए । यो कम्पनीको सेयरमूल्यमा ८.१० प्रतिशतको बढोत्तरी भयो । युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्यमा ६.११ अंकको वृद्धि भयो भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतको हाराहारीमा कमाए । 

यो दिन ललितपुर फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ९.५८ प्रतिशतले घट्यो ।