काठमाण्डौ । बुल रन समातेको धितोपत्रको दोस्रो बजारमा चौतर्फी सकारात्मक माहौल सिर्जना भइरहेकोले आज मंगलबार नेप्से परिसूचकमा झिनो अंकको वृद्धि देखिएको छ ।

नेप्से बढ्ने चासो व्यापक हुँदा ब्रोकर हाउसहरुसमेत लगानीकर्ताहरुको थामिनक्नु भीड देखियो । निष्क्रिय रहेका पुराना लगानीकर्ताहरुसमेत बुलिस बजारको ‘मौकामा चौका हान्न’ यतिबेला सलबलाउन थालेको स्टक ब्रोकरहरु बताउँछन् ।

सेयर कर्जामा बैंकहरु लचक हुनु र ब्याजदर पनि घट्नुले भोलिका दिनमा सेयर बजार चम्किने थप आधारहरु बन्दै गएको विश्लेषकहरु बताउँछन् । यतिमात्र होइन कि सूचीकृत कम्पनीहरुका हकप्रद आवेदन भर्ने दायित्व कम हुँदै जानु र भर्खरै नगद लाभांशहरु लगानीकर्ताहरुका हातहातमा आउँदा सेयर बजारमा पुनः लगानी भई बजार थप मजबुत बनेको जानकारहरु बताउँछन् ।

साताको तेस्रो कारोबार दिन आज नेप्से सूचकांक हिजोको तुलनामा ३.३६ अंकको बढोत्तरीसँगै १३ सय २०.४७ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.९० अंकले बढ्दा २८४.४३ विन्दुमा पुग्यो ।

नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये आज ६ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो ।

यो दिन निर्जीवन र जीवन बिमा चम्किए । दुवै समूहमा क्रमशः ८१.१७ र ६१.४७ अंकको बढोत्तरी आयो । त्यस्तै बैंकिङ समूहमा ४.६७ अंक, व्यापार समूहमा ८.२ अंक, होटेल्स् समूहमा २.३२ अंक र उत्पादन तथा प्रशोधन समूहमा १९.२२ अंकले वृद्धि भयो ।

आज विकास बैंक समूहमा १०.२७ अंक, जलविद्युत् समूहमा ०.७६ अंक, वित्त समूहमा ३.४८ अंक, अन्य समूहमा ७.४४ अंक, लघुवित्त समूहमा २.४ अंक र म्युचुअल फन्ड समूहमा ०.१५ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनीहरु 

नेप्सेमा सूचीकृतमध्ये १८३ कम्पनीका ४४ लाख ५५ हजार ५४५ कित्ता सेयर १ अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० रुपैयाँमा कारोबार भयो । 

आज सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेडको संस्थापक सेयरको २४ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भयो । त्यस्तै हिमालयन डिस्टिलरीको १० करोड ५२ लाख र एनआईसी एसिया बैंकको ९ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भयो ।

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड २० लाख, शिवम् सिमेन्टको ५ करोड ७० लाख, सूर्य लाइफ इन्स्योरेन्सको ४ करोड ६२ लाख, सानिमा विकास बैंकको संस्थापक सेयरको ३ करोड ९६ लाख, ग्लोबल आईएमई बैंकको ३ करोड ९० लाख, गुराँस लाइफ इन्स्योरेन्सको ३ करोड ८७ लाख र प्राइम लाइफ इन्स्योरेन्सको ३ करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भयो ।

धेरै कमाउने र धेरै गुमाउने

आजको दिन तीनवटा कम्पनीका सेयरधनीहरु धेरै कमाए । गुराँस लाइफ इन्स्यारेन्स, ग्लोबल आईएमई बैंक र पाँचथर पावर कम्पनीका सेयरमूल्यमा करिब १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो । 

यो दिन ग्लोबल आईएमई लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आयो ।