काठमाण्डौ । कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ । 

नयाँ वर्षमा तेल उत्पादक देशहरुको समूह ओपेक र उसको सहयोगी देश रुसबाट उत्पादन कटौति गएका कारण दैनिकजसो कच्चा तेलको मूल्य बढ्ने क्रम जारी छ । 

पछिल्लो चार दिनमा ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल करिब ४ डलर तथा डब्ल्यूटीआईको मूल्य करिब ३ डलरले बढिसकेको समाचार एजेन्सीहरुले जनाएका छन् । 

यसबाहेक अमेरिकाको कच्चा तेलको भण्डारणमा कमी आएका कारण मूल्यलाई सपोर्ट प्राप्त भएको छ । जानकारलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार ब्रेन्ट क्रूडको मूल्य चाँडै ६० डलर प्रतिब्यारेलको उचाईमा पुग्ने अवस्था देखिएको छ भने डब्ल्यूटीआईको मूल्य प्रतिब्यारेल ५० डलरसम्म पुग्नेछ ।

विज्ञहरुले तेलको मूल्य बढाउनका लागि सबै कुरा तथा परिस्थिति अहिले सकारात्मक रहेका छन् । यसर्थ मूल्यमा अझै बढोत्तरीको संभावना छ । 

अहिले अन्तराष्टिय बजारमा कच्चा तेलको मूल्य ५७ डलरको उचाईमा पुगिसकेको छ । डब्ल्यूटीआईको मूल्य ४८ डलरको उचाई चुमिसकेको छ ।

ओपेक तथा नन्ओपेक देशले कच्चा तेलको मूल्यमा जारी गिरावटलाई रोक्नका लागि गत महिना दैनिक १२ लाख ब्यारेल उत्पादन कटौतिको निर्णय गरेका थिए । यो निर्णय जनवरी १ बाट लागू भएको र यहीकारण तेलको मूल्य लगातार बढिरहेको हो । 

यसबाहेक अमेरिका र चीनबीचको व्यापारिक मुद्धालाई लिएर टकरावको स्थितिमा सुधार भएमा तेलको खपत अझ बढ्ने अनुमान गरिएको छ । 

अमेरिक पेट्रोलियम इन्स्टिच्यूटको हालै सार्वजनिक एक रिपोर्टमा अमेरिकाको तेल भण्डारमा गत साता मात्रै ४५ लाख ब्यारेलको कमी आएको कुरा खुलासा भएको थियो । यसले समेत कच्चा तेलको मूल्य बढाउन महत्वपूर्ण काम गरेको बताइएको छ । 

कच्चा तेलको मूल्यमा बढोत्तरीसँगै भारतले खरीद गर्ने तेलको मूल्य समेत बढ्नेछ । भारतले महंगोमा किनेको कच्चा तेललाई तयारी बनाई नेपाललाई पठाउने भएका कारण नेपाल भित्रिने पेट्रोलियम पदार्थको मूल्य समेत बढ्ने निश्चित छ ।