काठमाण्डौ । पछिल्लो समय मुद्रास्फिति बढ्न थालेको देखिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको आर्थिक परिदृश्यको समीक्षा गर्दै गत वर्षको तुलनामा महंगी बढेको प्रष्ट्याएको हो । 

गत वर्ष पुस महिनामा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फिति ३.२ प्रतिशत रहेकोमा २०७४ पुस महिनामा ४ प्रतिशत कायम भएको देखिएको हो । समीक्षा अवधिमा खाद्यान्नको मूल्यमा भएको केही वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको छ । 

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशतले ऋणात्मक रहेको थियो। गत वर्षको तुलनामा यस समूहअन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, घ्यू तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएको कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।

यस्तै, समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.२ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

हिमाल सबैभन्दा महंगो
यसैगरी, क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, तराई र पहाड दुबैमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.९ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा हिमाली क्षेत्र अन्तर्गत रहेको चन्दननाथ बजारकेन्द्रमा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्य वृद्धि अधिक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ४.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, पहाडमा ५.७ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति
समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.७ प्रतिशत तथा आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.२ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क २ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.८ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको थियो ।