काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार बढेको छ । नेप्से परिसूचक(इण्डेक्स) ८.११ अंकले बढेर १२००.०९ को विन्दूमा फर्किएको हो । 

यो दिन कारोबार रकम(टर्नओभर) घटेर निकै तल झरे पनि नेप्से परिसूचक भने बढेको हो । बित्त बाहेकका सबै समूहको सूचकमा बढोत्तरी भएको छ । 

आइतबार ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.७६ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६ अंकको बढोत्तरी भएको छ ।

यो दिन होटल समूहमा सबैभन्दा धेरै ४०.६६ अंक(२.२९ प्रतिशत)को वृद्धि भएको छ । यस्तै, बैंकिङ समूह ७.८५ अंकले बढेको छ भने विकास बैंक, माइक्रोफाइनान्स, बिमा समूहमा क्रमशः ७.७१, ६.५५ र ४३.४९ अंकको बढोत्तरी देखिएको छ । 

व्यापार समूहमा ०.१७ अंकको झिनो बढोत्तरी भएको यो दिन जलविद्युत समूहमा १०.७८ अंक, उत्पादनमूलकमा ९.३८ अंक तथा अन्य समूहमा १.९ अंकको बढोत्तरी देखिएको छ । यो दिन बित्त समूहमा चाहि १.५७ अंकको झिनो गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १ सय ७० कम्पनीका ६ लाख ६७ हजार ४ सय ३४ कित्ता सेयर १९ करोड ३८ लाख २६ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी सेञ्चुरी कमर्सियल बैंकको १ करोड २९ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले ७३ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ६३ लाख, एभरेष्ट बैंकले ५३ लाख बढीको कारोबार गरे । यस्तै, राष्टिय बिमा कम्पनी लिमीटेडको ५१ लाख बढीको सेयर कारोबार भएको बजारमा नवील बैंकले ५० लाख बढीको कारोबार गर्यो । यस्तै, एनसीसी बैंकको ४७ लाखको हाराहारीमा संस्थापक सेयर किनबेच भएको बजारमा सानिमा बैंकले ४५ लाख, प्रिमियर इन्स्योरेन्सले ४५ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.०८ प्रतिशतले बढ्यो । यस्तै, एनआइबिएल प्रगति फण्डको इकाई मूल्यमा ६.१३ प्रतिशतको वृद्धि भयो । 

यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.६६ प्रतिशतले घट्यो ।