-कृष्ण न्यौपाने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पूर्वाधारयुक्त केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार प्रालीलाई लिमिटेडमा रुपान्तरण गरिएको छ । प्रालीको साधारणसभाले कम्पनीलाई लिमिटेडमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
 
लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीको नाम बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड राखिएको छ । कम्पनीलाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । परियोजनामा रणनीति योजनाअनुरुप शेयरधनीको सहभागिता सुनिश्चित गर्ने कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरुपलाई बदलेर पब्लिक कम्पनीको स्वरुपमा लैजाने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
 
लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजना समेत बनाइएको छ । पहिलो पाँच वर्षलाई अल्पकालिन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालिन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालिन लक्ष्यका रुपमा वर्गीकरण गरिएको छ । 
 
खड्गदेवीलाई रु पन्ध्र लाखको शेयर
लिमिटेडले बन्दीपुर गाउँपालिका–४ मा रहेको खड्गदेवी मन्दिरलाई जगेडा शेयरमध्येबाट रु १५ लाखको शेयर प्रदान गरेको छ । खड्गदेवी मन्दिरको अङ्ग केबलकार र केबलकारको अङ्ग मन्दिरलाई बनाएर लैजान मन्दिर समितिलाई उक्त शेयर प्रदान गरिएको शर्माले जानकारी दिनुभयो । मन्दिरको दीर्घकालीन एवं दैनिक सञ्चालनको ग्यारेण्टी गर्ने गरी शेयर हस्तान्तरण गरिएको छ ।
 
वडा नं ४ ठूल्ढुङ्गामा निर्माण भइरहेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । एक वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिइएको छ । कम्पनीले माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटलसमेत निर्माण गर्ने भएको छ । त्यसका लागि काठमाडाँैस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार २५ महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबिआइ बैंकसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ।
 
केबलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्राली, मेकानिकल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पञ्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दाबढी लगानीकर्ता छन् । 
 
केबलकारको माथिल्लो स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । उक्त भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, समारोह हल र ८० कोठा निर्माण हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो । केबलकार भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । परियोजनाअन्तर्गत अहिले केबलकारका लागि आवश्यक मुख्य स्टेशन निर्माणको काम धमाधम भइरहेको छ । 
 
प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ। 
 
कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास लिइएको छ ।
 
ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा दुई सामान बोक्नेसहित १७ बाक्सा रहनेछन् ।