काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो होटलको दर्जा हाल मेलेशिया स्थित फस्र्ट वल्र्ड होटललाई दिइएको छ । यहाँ  ७ हजार ३ सय ५१ वटा कोठा छन् । तर अब यो होटलभन्दा ठूलो भएका कारण विश्वको सबैभन्दा ठूलो होटलको दर्जा अबराज कुदाई नामको होटलले लिँदैछ । १२ ठूला टावर्स, जहाँ १० हजार कोठा मात्र रहेका छन् । यो होटलमा ७० वटा रेष्टुराँ रहनेछ भने यस्तै अन्य कयौं सुविधा यो होटलमा उपलब्ध हुनेछ । साउदी अरबमा निर्माणको क्रममा रहेको यो होटल सन् २०१७ को अन्तसम्ममा तयार हुने मिडिया रिपोर्टमा उल्लेख छ । 

१२ वटा गगनचुम्बी टावर रहेको यो होटलमा १० यस्ता टावरहरु रहनेछन्, जहाँ फोर स्टार होटलको सेवा उपलब्ध हुनेछ । र, बाँकी २ टावरमा फाइभ र सेभेन स्टारको सेवा उपलब्ध हुनेछ । यसका अलावा यहाँ प्राप्त हुने सुविधा पनि अन्य होटलको तुलनामा बढी लक्जरियस छ । 

होटलको सबैभन्दा ठूलो टावर ४५ तले हुनेछ भने सबैभन्दा सानो टावर ३० तलाको हुनेछ । होटलमा चारवटा हेलिप्याड पनि निर्माण गरिएको छ । 

होटलमा आउने ग्राहकका लागि ७० वटा रेष्टुराँ दिनरात नै खोल्ने व्यवस्था मिलाइनेछ । यसका अलावा यो होटल क्षेत्रमा सुविधासम्पन्न सपिङ मल पनि हुनेछ ।

शाही परिवारका लागि विशेष व्यवस्था
अबराज कुदाई होटलमा साउदी अरबको शाही परिवारका लागि विशेष व्यवस्था गरिएको छ । होटलको ५ वटा फ्लोर शाही परिवारका लागि भनी सधैं रिजर्ब हुनेछ । 

यी फ्लोरमा शाही परिवारका सदस्य बाहेक अरु कसैलाई जान समेत प्रतिबन्ध लगाइनेछ । यहाँको सुरक्षा व्यवस्था पनि अन्य होटलको तुलनामा विशेष हुनेछ । 

१६० अर्ब रुपैयाँ लागत
१० हजार भन्दा बढी कोठा हुने यो होटलको निर्माणमा १ सय ६० अर्ब रुपैयाँ भन्दा बढी खर्च हुने बताइएको छ । यो होटलको निर्माण मक्कामा भइरहेको छ । प्रत्येक वर्ष मक्कामा २० करोडभन्दा बढी मानिस पुग्ने गरेका छन् । यो सुपर लक्जरियस होटलको योजना विश्वभरका ठूला रेष्टुरा र धनीहरुलाई आकर्षित गर्नु हो । 

यो गगनचुम्बी होटललाई ६४ हजार मिटर स्क्वायर क्षेत्रमा तयार गरिँदैछ । यो होटल सबै आधुनिक प्रविधिबाट सुसज्जित हुनेछ । 

निर्माणाधीन होटलसँग सम्बन्धित अन्य रोचक तस्विर हेर्न तलका फोटोहरुमा क्लिक गर्नुहोस् ।