काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि मन्त्रीपरिषदले ८ दिनअघि नै गठन गरेको सिफारिस समितिको विषयलाई आइतबार मात्र बाहिर ल्याइएको छ । 

चैत ९ गते बसेको मन्त्रीपरिषद बैठकले नै अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर छनौटका लागि सिफारिस समिति गठन गरेको थियो । 

समितिको सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटालाई मनोनीत गरिएको छ । 

तीन सदस्यीय सिफारिस समिति गठनको विषयलाई भने ८ दिनपछि अर्थात चैत १६ गते आइतबार राति मात्र सार्वजनिक गरियो । 

आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले राहात प्याकेज घोषणापछि संचारकर्मीसँग कुरा गर्दै गभर्नर छनौटका लागि सिफारिस समिति बनेको बताएका थिए ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले गभर्नर छनौटका लागि सिफारिस समिति गठन भएको पुष्टि गरे पनि बाँकी कुरा आफूलाई थाहा नभएको बताए । 

अर्थमन्त्री निकट स्रोतले भने सिफारिस समिति गठन भएको र अहिलेको असहज परिस्थितिमा कामुको भरमा मात्र केन्द्रीय बैंकलाई चलाउन नसकिने भएकोले गभर्नर नियुक्तिमा ढिलाई गर्न नहुने निश्कर्षसहित चैत ९ गते समिति गठनको निर्णय भएको हो । ‘अहिले निर्णय सार्वजनिक हुनुको अर्थ अब समितिले काम थाल्छ र केही दिनमै देशले नयाँ गभर्नर पाउँछ भनेर बुझ्नु पर्यो ।’ उनले बिजशालासँग भने–‘यो समितिले राष्ट्रबैंकका डेपुटी गभर्नरमध्ये एकसहित तीनजनाको नाम सिफारिस गर्नेछ ।’ 

अर्थमन्त्रीले मन्त्रीपरिषद बैठकमा सिफारिस तीन नाम प्रस्तुत गर्नेछन् र मन्त्रीपरिषदले ती तीन नाममध्येका एकजनालाई गभर्नर नियुक्त गर्नेछ ।

तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल चैत ५ गतेदेखि सकिएपछि राष्ट्रबैंकको कामू गभर्नरको रुपमा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्रबैंक हाँकिरहेका छन् । उनैको नेतृत्वमा कोरोना संक्रमणका कारण समस्यामा फसेको अर्थतन्त्रलाई त्राण दिने गरी राष्ट्रबैंकले हिजो मात्रै बम्पर प्याकेज घोषणा गरेको छ । उनले गभर्नरको रुपमा नियुक्ति पाए आफूले राम्रोसँग राष्ट्रबैंक हाँक्नसक्ने उदाहरण पेश गरिसकेका छन् । तर, शिवाकोटीका लागि गभर्नर बन्ने यात्रा ढुंगाको चिउरा चपाउनु झै गाह्रो छ । 

को होला नयाँ गभर्नर ?
नेपाल राष्ट्रबैंकको आगामी गभर्नरका लागि तीन अनुहार प्रवल दाबेदारको रुपमा अगाडि छन् ।

प्रधानमन्त्री निकट रहेका कामू गभर्नर चिन्तामणि शिवाकोटी भावी गभर्नरका लागि प्रवल दाबेदार हुन् । गभर्नर नियुक्तिको अन्तिम निर्णयमा प्रधानमन्त्रीको प्रमुख भूमिका हुने भएकोले उनलाई नै ल्याइने संभावना अधिक रहेको स्रोत बताउँछ । 

तर, पछिल्लो समय नेकपाभित्रकै केही शीर्ष नेता तथा मन्त्रीहरु शिवाकोटीलाई गभर्नर बनाउन नहुने भन्दै आफ्ना स्वार्थका नामहरु अगाडि सारिरहेका छन् । 

सिफारिस समितिको संयोजक समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीलाई मनाएरै भए पनि पूर्व अर्थसचिव राजन खनाललाई गभर्नर बनाउन चाहन्छन् । 

अर्थमन्त्रीको अर्को रोजाईको पात्र हुनसक्छन् लगानी बोर्डका अध्यक्ष तथा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी । शिवाकोटी र खनालको विषयमा विवाद देखिएर तेश्रो विकल्पको खोजी गर्दा अधिकारीको नाम गभर्नरको रुपमा आउनसक्ने संभावना समेत छ । डा. खतिवडा केन्द्रीय बैंकको गभर्नर हुँदा अधिकारीले उनी निकट भएर काम गरेका थिए ।

गभर्नर बन्ने दौडमा डा. मीनबहादुर श्रेष्ठ, पूर्व राजश्व सचिव लालशंकर घिमिरे लगायत समेत छन् । तर, उनीहरुको संभावना निकै कम रहेको स्रोत दाबी गर्छ । 

तर, कतिपयले भने चर्चामा आएबाहेकका कुनै नाम गभर्नरको रुपमा अगाडि आउनसक्ने दाबी समेत गरिरहेका छन् ।