काठमाण्डौ । धेरै समयपछि नेप्से सूचकांकमा भएको वृद्धिसँगै कारोबार रकममा समेत उछाल आएको छ ।

धितोपत्र दोस्रो बजारमा साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से सूचकांकमा १३.७७ अंकले बढेर कारोबार रकम ५५ करोड रुपैयाँ हाराहारीमा पुगेको हो । नेप्सेमा सूचीकृत कम्पनीमध्ये १७५ कम्पनीका १९ लाख ९५ हजार ४८ कित्ता सेयर कुल ५४ करोड ९९ लाख ९८ हजार २४१ रुपैयाँमा कारोबार भयो ।

आज नेप्सेको सबै उपसमूहमा हरियाली छाउँदा ‘अन्य’ उपसमूहमा भने झिनो अंकले रातो पोतिएको छ ।

एनएमबी बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत बम्पर लाभांश वितरणको प्रस्ताव गरेसँगै यसले बजारमा माहौल तताएको छ । त्यस्तै प्रभु बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास वित्तीय विवरणले पनि यो बैंकको कारोबार रकम बढाएको छ ।

केही दिनयताको कारोबारमा नेप्से सूचकांक ‘साइड वेयज्’ अवस्थामा रहँदा सूचीकृत कम्पनीका आकर्षक लाभांश र राम्रो वित्तीय विवरणले बजारमा उछाल आउन सक्ने संकेत आजको बजारले गरेको विश्लेषकहरु बताउँछन् । 

आजको दिन सबैभन्दा बढी जीवन बिमा उपसमूहको सूचकांक ७९.०२ अंकले बढेको छ । त्यस्तै निर्जीवन बिमा उपसमूहको सूचकांक ६७.५३ अंकले बढ्यो । यस्तै बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड उपसमूहको क्रमशः १२.३१, ३१.९३, १३.३२, १२.८५, २.०७, ५५.७, ३०.७५ र ०.०१ अंकले वृद्धि भएको छ ।

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन एनएमबी बैंकले सबैभन्दा धेरै १३ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार गरेको छ । त्यस्तै प्रभु बैंकले पनि ७ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार गर्यो । यसैगरी माछापुच्छ्रे बैंक, प्रभु बैंकको संस्थापक सेयर, प्राइम बैंकको संस्थापक सेयर, नेपाल बैंक लिमिटेड, नबिल बैंक, चिलिमे हाइड्रोपावर, एनसीसी बैंक र निर्धन उत्थान लघुवित्तले क्रमशः ३ करोड ५९ लाख रुपैयाँ, ३ करोड २१ लाख रुपैयाँ, २ करोड १३ लाख रुपैयाँ, १ करोड ७६ लाख रुपैयाँ, १ करोड १६ लाख रुपैयाँ, १ करोड ५ लाख रुपैयाँ, १ करोड २ लाख रुपैयाँ र ९७ लाख रुपैयाँबराबरको कारोबार गरेका छन् । 

धेरै कमाउने, धेरै गुमाउने

आजको दिन हिमालयन डिस्टिलरीका सेयरधनीहरुले सबैभन्दा बढी कमाए । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भई पोजिटिभ सर्किट लाग्यो ।

त्यस्तै सबैको लघुवित्त र रिडी हाइड्रोपावरको सेयरमूल्यमा समेत १० प्रतिशतकै हाराहारीमा बढोत्तरी भयो । आँखुखोला जलविद्युत् कम्पनी र राधी विद्युत् कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढ्यो ।

उता यो दिन एनआईबीएल समृद्धि फन्ड १ का इकाइधनीहरुले सबैभन्दा धेरै गुमाए । यो म्युचुअल फन्डको इकाइमूल्यमा ६ प्रतिशतको हाराहारीले गिरावट आयो ।