काठमाण्डौ । बम्पर लाभांश प्रस्ताव गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको मंसिर १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस १३ गते काठमाण्डौको नक्लासस्थित सेलिब्रेसन ब्याङ्क्वेट पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्ष २०७५/७६ का लागि संस्थाले प्रस्ताव गरेको चुक्त पुँजी १ अर्ब २० करोड रुपैयाँको कुल ४०.५३ प्रतिशत लाभांश पारित हुनेछ । प्रस्तावित लाभांशमा २५ प्रतिशत हुन आउने ३० करोड रुपैयाँबराबरको बोनस सेयर र १५.५३ प्रतिशत हुने आउने १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनजस्ता महत्वपूर्ण दस्तावेज पनि छलफलपछि पारित हुनेछ ।

लाभांश र साधरणसभा प्रयोजनका लागि संस्थाले मंसिर ३० गतेदेखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले संस्थाको लाभांश सुरक्षित गर्न र साधारणसभामा भाग लिन पुस १२ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।