काठमाण्डौ । छुट्टीको समयमा उच्च पहाडी क्षेत्र, मनोरम ताल अनि समुद्री क्षेत्रमा बनेका होटेल बसेर यताउती घुम्न मज्जा आउँछ । ती होटेलमा दिइने सुविधा अझै आकर्षक हुन्छन् । पर्यटकलाई लोभाउनैका लागि होटेलहरुले विभिन्न प्याकेज सार्वजनिक गरिरहेका हुन्छन् ।

यस्तोमा यदि अत्याधिक चिसो हुने बरफ नै बरफ जमेको ठाउँमा होटेल बन्दैछ भन्दा अनौठो लाग्न सक्छ । किनकि बरफ त पग्लिन्छ अनि कसरी होटेल बन्ला ? यदि बनिहाले पनि त्यस्तो होटेलमा रात कटाउन कति सम्भव होला ? यस्तैयस्तै प्रश्न उब्जिन सक्ला ।

आर्कटिक महासागरमा बरफ जमेको ठाउँमा यस्तै एउटा लग्जरी होटेल बन्दै छ । लग्जरी उक्सन नामक ट्राभल कम्पनीले त्यहाँ पर्यटकका लागि होटेल बनाउन लागेको हो । यो होटेलमा पर्यटक आरामका साथ रात बिताउन सक्ने कम्पनीको दाबी छ । पर्यटकको बसोबास आराम बनाउन तापमान पनि त्यहीअनुसार बनाइने कम्पनीले जनाएको छ । होटेलमा १० वटा तातो कोठा बनाउने कम्पनीको योजना छ ।

अब यो होटेलमा बस्न कति लाग्ला छ ? कम्पनीका अनुसार यो होटेलमा पाँच दिन रात बिताउन पर्यटकले १ लाख डलर खर्च गर्नुपर्ने हुन्छ ।

उत्तरी ध्रुवमा अवस्थित नर्दन लाइट्सको मनोरम दृश्य अवलोकन गर्न यहाँ हरेक वर्ष कम्तीमा १ हजार पर्यटक भित्रिने गरेका छन् । यसका साथ यहाँ सिल, पोलार बियर र विभिन्न प्रजातिका चराचुरुंगीलगायत जीवजन्तु पनि देख्न सकिन्छ । – एजेन्सी