काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा शुक्रबारदेखि काठमाण्डौको न्यूरोडस्थित खिचापोखरीमा संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरे । 

सो अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिति थियो । 

सो समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायी, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 

शाखाको उद्घाटन कार्यक्रममा  चिरञ्जिबी चापागाईले कम्पनीले छोटो समयमै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए । 

कम्पनीको शुक्रबार उद्घाटन भएको शाखा सहित २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु रहेको छ । 

सो कार्यक्रममा अध्यक्ष  ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान निश्कासन गर्ने र चालुु आर्थिक वर्षको अन्तमसम्ममा कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुर्याउने जानकारी दिए । उनले अबको २ महिनाभित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु थप्ने घोषणा समेत गरे ।

प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्न सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिए । कम्पनीले हालसम्म रु.३३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको समेत उनले बताए ।