काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमीटेडले समेत आइपीओ जारी गर्ने भएको छ । 

यो कम्पनीले सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बलेफी–१ आयोजना निर्माण गरिरहेको छ । 

कम्पनीले रु. ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको प्राथमिक सेयरको निश्कासन गर्न लागेको हो । 

यो आोजनामा सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण भइरहेको छ।

आयोजनाका प्रोजेक्ट म्यानेजर शरद शारडाका अनुसार कम्पनीको चुक्तापूँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कुल ३६ करोड ५५ लाख ९४ हजारको सेयर ल्याइन लागिएको हो । 

शारडाका अनुसार आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढिसकेकोले दशैंअघिसम्ममा सर्वसाधारणका लागि आइपीओ निश्कासन गरिसक्ने योजना छ । 

निजी क्षेत्रका विभिन्न औद्योगिक तथा व्यवसायिक घरानाको प्रवद्र्धन रहेको यो आयोजनाको कुल लागत ६०६ करोड रुपैयाँ रहेको छ । यो हिसाबले प्रति मेगावाट लागत १६.८३ करोड रुपैयाँ रहेको छ, जुन तुलनात्मक हिसाबले कम लागत हो । 

यो आयोजना सारडा ग्रुप, लक्की ग्रुप, गोल्यान ग्रुप र शंकर ग्रुपको लगानीमा निर्माण भइरहेको हो । कम्पनीको अध्यक्षको रुपमा उमेश कसजू रहेका छन् । 

हालसम्म यो आयोजनाको ७० प्रतिशत काम पूरा भइसकेको प्रोजेक्ट म्यानेजर शारडाले जानकारी दिए । 

यो आयोजनामा ग्लोबल आइएमई बैंकको कन्सोर्टियम लिडमा ५ बैंकले ऋण लगानीको ग्यारेण्टी गरेका छन् । सानिमा बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक र राष्ट्रिय वाणिज्य बैंकले ४२५ करोड ऋण लगानी गरेका बताइएको छ । 

रेटिङ कति ?
बलेफी हाइड्रोपावर लिमीटेडले जारी गर्न लागेको आइपीओलाई इक्रा नेपालले फोर प्लसको ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल छ भन्ने हो । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।