काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमीटेडले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।

बलेफी हाइड्रोपावर लिमीटेड र ग्लोबल आइएमई क्यापिटलबीच साउन १४ गते सो सम्बन्धमा एक सम्झौता भएको छ । 

बलेफी हाईड्रोपावर लिमिटेडले प्रति शेयर रु.१००(अंकित दरको ३६,५५,९४० कित्ता साधारण शेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निश्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसैका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

शेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा बलेफि हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र ग्लोबल आइएमई क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे ।

बलेफी हाइड्रोपावर लिमीटेडले ३६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। 

कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिङ दिएको छ । 

यो कम्पनीले सकेसम्म दशैंअगाडि नै आइपीओ निश्कासन गर्न खोजेको छ । सुरुमा आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि र त्यसपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन हुनेछ ।