काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले ३६,५५,९४० कित्ता शेयरको सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सनराइज क्यापिटल लिमिटेड, हिमालयन क्यापिटल लिमिटेड र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । 
फागुन ६ गते यस विषयमा एक सम्झौता भएको हो । 

सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरुको तर्फबाट एनएमबि क्यापिटलका श्रीजेश घिमिरे, सनराइज क्यापिटलका विजयलाल श्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

कम्पनीले १८,२७,९७० कित्ता शेयर आयोजनाप्रभावित क्षेत्रका स्थानीयबासिन्दालाई र बाँकी १८,२७,९७० कित्ता शेयर सर्वसाधारणका लागि निश्कासन गर्न लागेको छ । 

सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको र कम्पनीले हालसम्म ८० प्रतिशतसम्मको निमार्ण कार्य सम्पन्न गरिसकेको छ। आगामी २०७७ आषाढसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जडान गरी बिक्री गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको कुल लागत जम्मा रु.६ अर्ब ७८ करोड रहेको (७०ः३०–कर्जाःपूँजीअनुपात) र प्रति मेगावाट रु.१६ करोड ९० लाख रहेको छ, जुन औषतमा अन्य हाइड्रोपावर कम्पनीको लागतभन्दा कम रहेको छ ।

आयोजनाको साधारण लगानीफिर्ता हुने अवधि ८.२८ वर्ष र आयोजनाको डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि १६.५९ वर्ष रहेको छ ।

इक्रा नेपालले यस कम्पनीद्वारा जारी गर्न लागेको  शेयर निष्काशनलाई इक्रा एनपी आइपीओ ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ ।

कम्पनीको औषत वार्षिक विद्युत उत्पादन राम्रो रहेको तथा आयोजनाको लागत कम रहेकोले सञ्चालनमा आएको पहिलो वर्षमा नै लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ ।