नेपाली साहित्य जगतमा चिनिएको एउटा नाम हो बसन्त चौधरी । चौधरी ग्रुपबाट एक सफल उद्योगीको रुपमा जति चर्चा उनको हुन्छ, सिर्जनाका फाँटहरुमा, सर्जकहरुको भीडमा पृथक पहिचान बोकेका उनको कम चर्चा हुन्न । नेपाली साहित्यको प्रवद्र्धनमा विश्व काव्य यात्रा सुरु गरेर नौलो थालनी गरेका तिनै बसन्त चौधरी एक दिल सफा भएका स्रष्टा र उद्योगी हुन् । कोमल मनका धनी उनले जति आमा र बुबाको महत्व सायदै कसैले व्यक्त गर्न सक्लान् । केही महिनाअघि पिता लुनकरणदासको निधन हुँदा होस् वा १६ वर्षअघि आमाको देहान्त हुँदा, उनी विक्षिप्त भएका थिए । उनलाई लागेको थियो–‘मेरो संसार नै डूब्यो, सर्वश्व गुम्यो ।’ ‘तर जीवनमा धेरै चोट, पीडा खपेर समेत मानिस जिउनुपर्ने रहेछ ।’ बिजशालासँग आमाको मुख हेर्ने औंशी अर्थात मातातीर्थ औंशीको अघिल्लो दिन गफिदै उनले भने–‘शाश्वत सत्य कस्ले पो टार्न सक्छ र ? आमाको बराबर यो संसारमा अरु कुनै सम्बन्ध छैन । आमाले दिने मायाको केही कुरासँग पनि तुलना गर्नै सकिन्न ।’ 

कवि तथा उद्योगी चौधरीले आमाको मुख हेर्ने दिन शुक्रबार बिहानै आफ्नो फेसबुक वालमा लेखेका छन्–‘आमा र सन्तानबीचको सम्बन्ध अनन्त र शर्तहीन छ ।’ उनले भावूक हुँदै १६ वर्ष अघि दिवंगत आमा गंगादेवी चौधरीलाई सम्झिएका छन् । भन्छन्–‘आमा मैले तपाईलाई १६ वर्षअघि भौतिक रुपमा गुमाएँ, कुनै त्यस्तो दिन छैन तपाईंलाई नसम्झिएको होस्, मिस नगरेको होस् । तपाईंलाई गुमाउँदाको पीडा उस्तै छ र तपाईको ममताको म अझै प्यासी छु ।’ उनले संसारका आमाहरु आफ्नो सन्तानको खुशीका लागि प्रशस्त प्रेम दिएर, उचित हेरचाह गरी आफू बलिदान समेत भएकी भन्दै तमाम आमाहरुप्रति ‘नमन’ भनेका छन् । 

उनले आमाहरुले आफ्नो अन्तिम श्वास रहुञ्जेल मात्र होइन, सन्तानहरुलाई स्वर्गमै  पुगेर पनि रक्षा गरिरहेकी हुन्छिन् भनेका छन् । उनले आफ्नो स्वार्थी संसारमा हुर्किएका र व्यस्तताको नाममा आमालाई समय दिन नभ्याएका सन्तानहरुलाई इंगित गर्दै प्रश्न गरेका छन्–‘के हामीले हाम्री आमालाई जीवनमा साच्चिकै राम्रो सेवा गरेका छौं ? माया र समय दिएका छौ ?’ उनले वर्तमानको तीतो यथार्थ समेत व्यक्त गरेका छन् । ‘हामी भौतिक सफलताको मुसा दौडमा हराएका छौ अनि बिर्सिएका छौ संसार देखाउने आमाको महत्व ।’ उनले भनेका छन्–‘तर जुन महिलाले हामीलाई यो संसारमा ल्याइन उनका लागि हामीसँग दिने समय छैन, यो बिडम्बना हो ।’ उनले सन्तानहरुलाई सम्झाउँदै आफ्नी आमा बाचुञ्जेल मात्र उनको सेवा गर्ने अवसर मिल्ने बताउँदै भनेका छन्–‘जब आमा सधैंका लागि विदा हुन्छिन्, त्यसपछि दर्शाइने मायाको के काम ? त्यसपछि व्यक्त हुने प्रेमभावको के काम ?’ 

चौधरीले आमा बितेपछिका हरेक वर्षको मातातीर्थ औंशीको दिन आमाले आफूलाई दिएका शिक्षाहरु सम्झने गरेका छन् । ‘म हर समय आमा र बुबालाई सम्झन्छु, उहाँहरुले देखाएको गोरेटोमै हिँडिरहेको छु ।’ चौधरीले बिजशालासँग भने–‘यो दिन म कुनै मन्दिर जाँन्न । अरुबेला भन्दा आमालाई बढी मिस गर्छु र आमाको काखमा खेलेका, आमाका ममतामयी स्पर्श पाएको त्यो स्वर्गीय संसारलाई अझ बढी मिस गर्छु ।’ 

चौधरीले शुक्रबार आमाको नाममा कविता समेत लेखेर पोष्ट गरेका छन् । कविता यस्तो छ :
आमा...
संवेदना हो, भावना हो
स्नेहको आभास हो आमा
जीवनका फूलहरुमा बस्ने 
सुवास हो आमा ।
रोइरहने आँखाहरुको 
रसाऊँदो किनार हो आमा
मायाको सागर हो
ममताको धार हो आमा ।
जीवनको रुदनमा
एक स्वप्निल आश हो आमा
फुकेर सेलाईदिने 
एक तातो गाँस हो आमा ।
शिशु तृप्त हुँदा 
देखिने मुस्कान हो आमा
उसकालागि ज्यान दिने
त्याग हो, बलिदान हो आमा ।
आफ्नो शिशुलाई
थुम्थुम्याऊँदो हात हो आमा
अनिन्द्रित आँखालाई
मिठो निन्द्रित रात हो आमा ।
कठांग्रीने जाडो याममा
न्यानो घाम हो आमा
स्वर्ग हो, देवी हो
चारै धाम हो आमा ।
आमा झैं कहिल्यै कोही हुन्दैन 
आमाको उच्चता आकाशले नि छुँदैन ।