-भक्तराज रसाइली
काठमाण्डौ । कसैलाई करोडपति त कसैलाई रोडपति बनाउने सेयर बजारमा विशेष चाख र अध्ययन भएमा सेयरको कमाइले ठूलो भरथेक गर्नसक्छ । 

सेयर बजारको महासमूद्रमा पसेर मोती खोज्नु चाहिँ कम चुनौतीपूर्ण छैन । थोरै व्यक्तिहरु सुझबुझपूर्ण र वित्तीय व्यवस्थापनमा अब्बल भएमा सेयरबाट करोडपति नहुने कुरै हुँदैन । आफू सेयरमा लगानी गरेर अरु सयौंलाई समेत फ्लोअर बनाएका लगानीकर्ता बसन्त नेपालको रोचक सक्सेस स्टोरी यो साताका लागि हाम्रो रोजाई बनेको छ । 

वसन्त नेपालको पुख्र्यौली घर बाराको कलैया हो । उनी हाल मैतीदेवी काठमाण्डौमा बसोबास गरिरहेका छन् । उनको परिचय नेपाली सेयर बजारमा पूर्णकालीन लगानीकर्ताको हो । 

बिहानको खाना खाएर ११ बजे पुतलीसडकस्थित ब्रोकर नम्बर २६, एशियन सेक्युरिटीजमा आउने र ३ बजेसम्म ब्रोकरले उपलब्ध गराएको डिस्प्ले फ्लोरमा आँखा लगाउँदै ३ बजेसम्म त्यहाँ सेयर खरिदबिक्रीमा व्यस्त रहन्छन् । 

उनको यो दैनिकी वा जागिर कारोबार खुल्ने आइतबारदेखि बिहीबारसम्म (सार्वजनिक बिदाबाहेक) ब्रोकर अफिस धाउने नै हो । सेयर खरिदबिक्रीका लागि कोठाभाडा, कम्पनी दर्ता, अन्य झञ्झट केही व्यहोर्न नपर्ने हाइसञ्चोको काम भएको लगानीकर्ता नेपालको बुझाई छ ।

हुन त नेपाल लाइफ इन्स्योरेन्स कम्पनी(एनएलआइसी)को २०५८ सालदेखि एजेन्ट समेत रहेका नेपालले दोस्रो बजारमा २०६१ सालदेखि सक्रियता बढाएका थिए । 

प्राथमिक बजारमा ०५६/५७ ताका लक्ष्मी बैंकबाट १० कित्ता सेयर हात परेपछि अहिलेसम्म संभव भएसम्म उनले कुनै कम्पनीको आइपीओ छुटाएका छैनन्। 

दोस्रो बजारमा पाइला राख्दा उनैले काम गर्ने कम्पनीको १ सय ३५ रुपैयाँ प्रतिकित्ता दरले २ सय २० कित्ता खरिद गरेर प्रवेश गरेका थिए । उनी अक्सनमा खुलेका सेयर समेत भर्ने गरेको सुनाए ।

सेयर बजारमा आफ्नो गडफादर आफैंलाई मान्ने नेपाल गाउँमा बस्दा पुस्तकालय जान्थे । त्यहाँ उपलब्ध पत्रपत्रिका, रेडियोबाट ज्ञान लिँदै १ सय रुपैयाँको सेयर त हो नि भन्दै आइपीओ भर्न सुरु गरेको उनले विगत सम्झिए । पछि मुम्बईमा काम गर्न जाँदा त्यहाँका स्टाफ साथीभाइहरुले सेयर खरिदबिक्री गर्ने गरेको देखे । 

उनले काम गरेको ठाउँबाट नजिकै रहेको दलाल स्ट्रीट, हर्सद मेहताका बारेमा जान्नेबुझ्ने अवसर पाएपछि सोही प्रभावबाट सकारात्मक बन्दै नेपालमा आएर सेयर बजारमा सक्रिय हुने रहर जाग्यो ।

सेयरमा लगानी गर्ने रहरले २०६६ सालमा काठमाण्डौले निम्तो गरेपछि नेपालले कन्सट्रक्सन कम्पनी, सोलार मार्केटिङ्ग गर्दागर्दै उनले पनि सेयर बजारमा पाइला राखे ।

इन्स्योरेन्सको एजेन्ट कमिसनबाट मात्र वार्षिक ६-७ लाख बुझ्ने नेपालले सेयरको आम्दानी चाहिँ खुलाउन चाहेनन् । चाहेमा अहिले घर बनाउन काबिल भएको संकेत चाहि गरे । 

उनको सुरुवाती पोर्टफोलियोलाई २/३ सय गुणा बढाएको दाबी गरे । घर बनाउने खर्च सेयर बजारमा लगानी गरे पूँजीगत लाभ मनग्यै गर्न सकिने भएकाले नै आफूले बजारमा लगानी नै गरिरहेको सुनाए । उनले भने–‘मेरा छोराछोरीलाई समेत पछि सेयर बजार नै सिकाउँछु ।’ 

बरु १/२ ठाउँको प्रपर्टी बेचेर अहिले लगानी थप्ने तरखरमा रहेका नेपाल बुढेसकालसम्म नै सेयरमा लगानी गरिरहने बताए ।

सेयर बजारमा लगानी गर्ने काम साह्रै सजिलो, स्तरीय र खुशीसाथ गर्ने काम रहेकोमा नेपाल दंग देखिन्थे । कसैको चोरी, डाहा, आगलागी र लगानी गर्न सटर समेत नचाहिने भएकोमा उनले सेयर बजार औधी मन परेको क्षेत्र भएको सुनाए ।

सेयर खरिदबिक्रीमा आउन चाहने नयाँ लगानीकर्ताहरुलाई आफ्नो प्राथमिकता रोज्नुपर्ने र सम्पत्तिको ब्याकअप  अनि आम्दानीको स्रोत भएपछि मात्र सेयर बजार प्रवेश गर्न नेपालले सुझाए । 

वित्तीय व्यवस्थापनमा चनाखो रहँदै आम्दानीको केही हिस्सा सेयरमा लगानी गर्न उनको सुझाव छ । 

२/४ वटा कुरा थाहा पाएपछि जान्ने बुझ्ने झैं गरी सेयर किन्ने परिपाटी आम  लगानीकतामा रहेको र उनीहरुले बढेका बेला किन्ने र घटेका बेला लुक्ने र आत्तिने भएकोले यो प्रवृति गलत रहेको र सेयरमा लगानी गर्द धेरै विचार पुर्याउनुपर्नेमा जोड दिए । 

खरिदबिक्री जोनलाई पहिचान गर्दै उल्टो हल्लाका पछि नदगुरी सचेत भई लगानी गर्नुपर्ने नेपालको ठम्याइ छ । 

नेपाल लाइफ इन्स्योरेन्सको सेयर २ सय गुणा बढीमा बेचेर अधिक नाफा कुम्ल्याएको सम्झँदै नेपालले स्वावलम्बनका ९ सयमा किनेको सेयरमा ४० प्रतिशत बोनस खाएर २९ सयमा बेचेको रोचक प्रसङ्ग पनि निकाले । 

यसैगरी अक्सनमा भरेको पीआइसी २ सय ७७ मा पारेर १५ सय कित्तालाई ५/६ महिनापछि १३ सयमा बेचेको उनले विगत सम्झे । 

सानो पैसामा समेत ठूलो रकम कमाउन आफू सफल भएको नेपालको दाबी छ । सेयरबाट सफल हुन स्वअध्ययन जरुरी रहेको उनको भनाई छ ।

नियामक धितोपत्र बोर्ड, नेप्से, बीमा समित लगायतका संस्थाहरुले स्वार्थ बाझिएर काम गर्ने गरेकामा रुष्ट नेपालले स्वतन्त्र र शुद्ध हुन आवश्यक रहेको टिप्पणी गरे । बजार सुधार र विस्तारका लागि ढिलाचाँडो काम हुने गरेको भए पनि आफ्नो स्वार्थमा लोभिने गरेको नेपालले आरोप लगाए ।

बीस वर्षअघिको सेयर बजार र वर्तमान बजारबीच आकाशपातालको फरक रहेको बताएका नेपाल पहिले अनुमानका आधारमा लगानी गर्नुपर्ने र अहिले विस्तृत डाटा र आधारभूत पक्षहरुको अध्ययन विश्लेषण गरेर लगानी गर्न सहज बनेको बताए । अहिले  सयौं गुणा राम्रो र ढुक्कले लगानी वातावरण बनिरहेको भन्दै नेपालले फेसबुकमा रोइलो गाउनेहरुले बजारमा आफ्नो स्वार्थपूर्तिका लागि नियोजित नाटक रच्ने भएकाले सचेत रहनुपर्ने विचार राखे।

लहैलहैमा भन्दा पनि सुझबुझमा लगानी गर्न र तुरुन्त कमाउने हिसाबमा भन्दा पनि भविष्यमा सन्ततिका लागि राम्रा कम्पनीका सेयरमा लगानी गरेमा सेयरबाट जोसुकै पनि करोडपति बन्न कुनै समय नलाग्ने उनको धारणा छ ।