-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र व्यवसायीहरुका भीडमा सम्भवतः बहुमुखी प्रतिभाका धनी हुन् विजय रानाभाट । उनले ब्रोकर नम्बर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि. सञ्चालन गरिरहेका छन् । 

कम्पनीका कार्यकारी निर्देशक रानाभाटको ब्रोकर कार्यालय काठमाण्डौ–२९ न्यूरोडमा छ । 

काठमाण्डौ–९ गौशालाका बासिन्दा उनले शंकरदेव क्याम्पसबाट वित्तशास्त्रमा डिग्री र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा समेत डिग्री हासिल गरेका छन् । 

ब्रोकर कम्पनीका अलावा उनले येले एजुकेशन कन्सल्टेन्सीमा सीइओ, ट्रीप एडभाइजर नेपाल ट्राभल्स एण्ड टुर्समा सीइओ र प्रिसियस नेशनल एकेडेमी एण्ड कलेजमा निर्देशकको भूमिका समेत निर्वाह गरिरहेका छन् । 

रियल स्टेटमा पनि हात हालेका उनले भियाकम मिडियामार्फत समसामयिक विषयमा डकुमेन्ट्री समेत बनाउँदै आएका छन्् । जीवनको अन्तिम लक्ष्य समाजसेवा रहेको बताउने रानाभाट विभिन्न सामाजिक संघसंस्थाबाट सम्मानित भएका छन् ।

सन् २०१० मा स्थापना गरिएको भृकुटीमा ४ जना प्रमोटर छन् । यो कम्पनीको चुक्तापूँजी २ करोड र नेटवर्थ २ करोड २३ लाख रहेको छ । कम्पनीमा १५ जना कर्मचारी कार्यरत छन् । कम्पनीको उपत्यका बाहिर इटहरीको कस्तुरी चोकमा शाखा कार्यालय सञ्चालित छ ।

रानाभाटले सञ्चालन गरेको ब्रोकर कम्पनीबाट डीपी सेवा समेत पाइन्छ । हालसम्म यहाँबाट ५ हजार हाराहारीमा डिम्याट खाता खोलिएका छन् ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीमार्फत कुल १५३ कम्पनीका ४२ करोड ४८ लाख ३७ हजार रुपैयाँ रकम बराबरको कारोबार गरेको छ । 

कम्पनीकाअनुसार १२ हजार ४ सय २१ कारोबारी खाता रहेकामा दैनिक कारोबारी २ सय औसतमा हुने गर्छन् । 

संस्थागत लगानीकर्ता ५७ जना रहेकामा कार्यालयमा लगानीकर्ताको दैनिक उपस्थिति औसतमा ५० रहेको कम्पनीले जनाएको छ ।

आफूलाई टप २५ भित्रको स्थानमा राख्न रुचाउने कार्यकारी निर्देशक रानाभाटले ग्राहकलाई भगवान ठान्ने गरेको बताए । 

ब्रोकर पेशामा आउनुअघि डिग्री अध्ययनकै क्रममा सेयर लगानीकर्ता रहेका रानाभाटले नेपाल बंगलादेश बैंकको १० कित्ता आइपीओ समेत हात पारेको विगत कोट्याए । शंकरदेवबाट डिग्री सकाइसकेपछि निकटतम साथीहरुलाई भेला गरेर उनकै नेतृत्वमा सहकारी र इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षका रुपमा समेत केही समय काम गरे । अप्रत्यक्ष रुपमा पूँजी बजारमा नै सक्रियता जनाइरहेको बेला नेप्सेले ब्रोकर लाइसेन्स खुलाएसँगै संभावना देखेर ब्रोकर लाइसेन्स लिन पुगेको उनले सम्झिए ।

अध्यात्ममा औधी आस्था बोकेका रानाभाटले आफूलाई गुरु विकासानन्दले ‘जीवनमा एउटै कलाले बाँँच्न गाह्रो हुने भएको र २ वा सोभन्दा बढी डुङ्गामा खुट्टा राख्न’ सुझाएकाले आफू ब्रोकर र अन्य  धेरै पेशालाई अँगाल्न पुगेको जिकिर गरे ।

जागिरभन्दा उद्यममा नै घत लागेर ब्रोकर पेशा अँगाल्न पुगेका रानाभाट आफूलाई ‘सामाजिक धार्मिक भावनाबाट ओतप्रोत ब्रोकर’को रुपमा चिनाउन चाहन्छन् ।

नेपालको पूँजीबजारमा फ्युचर मार्केट, अप्सन मार्केट र इन्ट्राडे कारोबार हुनुपर्ने उनको माग छ । नेप्सेले हाल रहेको ४ घण्टा कारोबार समयलाई विस्तारै बढाउँदै २४ घण्टा पुर्याउनुपर्ने उनको माग छ ।

आफ्नो ब्रोकर कार्यालयबाट डीपी सेवा र सहज अनलाइन कारोबार गर्न दिइरहेको भन्दै उनले लगानीस्कुलसँग मिलेर सेयरसम्बन्धी तालिममा संयोजन गरिरहेको बताए । कार्यालय समय भने बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको छ ।

सबै ब्रोकरबाट धितोपत्रको खरिदबिक्रीमा समान सेवा रहेको मत राख्दै उनले आफ्नोमा चाहिँ अलिक राम्रो वातावरण र दीर्घकालीन सेवासुविधा दिने भएकोले सेवा लिन आग्रह गरे ।

नियामक सेबोन र नेप्सेबीचको समन्वयमा कमी भएको तर्क प्रस्तुत गर्र्दै लगानीकर्ता र नियामकबीच सीधा सम्बन्ध, ब्रोकर सेमिनार लगायतका कार्यहरु गरे पूँजीबजार थप विकास र विस्तार हुने उनको बुझाइ छ ।

देश विकासमा पूँजी बजारले सकारात्मक भूमिका खेल्ने उल्लेख गर्दै राज्यका विभिन्न मुख्य संयन्त्रहरुबीचको संयोजनले विश्वसनीयता आर्जन गरेको उनको भनाइ छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बिदेशी स्टक एक्सचेञ्जमा पनि कारोबार हुनुपर्ने उनको माग छ ।

नियमको अनभिज्ञताले सेबोनबाट १ पटक कारबाहीमा परेको भएतापनि अन्य कुनै किसिमको कार्वाहीमा नपरेको उनको दाबी समेत छ ।

बिदेशी ब्रोकर कम्पनीहरुसँग साझेदारी र समन्वय गर्दै बैदेशिक लगानी भित्र्याउनु आवश्यक रहेको उनले औंल्याए ।

पूँजी बजारको विशेष विशेषता तरलता भएकोले पर्याप्त अवसर भएको बताउँदै नियामकले बुथ मार्केटिङ्ग गर्नुपर्ने जिकिर गरे । हालै ब्रोकरहरुलाई वेबसाइट अनिवार्य बनाउनुपर्ने नेप्सेको निर्देशनलाई सराहनीय कदम भएको सुनाए ।

पूँजीबजारमा नियामकहरुले समयसापेक्ष सकारात्मक र समन्वयकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर ५५
-सुष्मा ढुङ्गाना(लगानीकर्ता)-कलंकी,३१ वर्ष
विगत ७÷८ वर्षदेखि सेयर बजारमा सक्रियता जनाएसँगै मैले यहीँबाट कारोबार गर्दै आएकी छु । सेवासुविधा राम्रो भएकोमा खुशी छु । यहाँका कर्मचारीहरु मित्रवत भएकाले सन्तुष्ट समेत छु । निकट भविष्यमा मार्जिन कारोबार सुविधा यहीँबाट पाउने आशा राखेकी छु । म १० नम्बरमध्ये ९ नम्बर दिन चाहन्छु ।

शिव ढुङ्गाना(व्यापारी)- एकान्तकुना,३२ वर्ष

म पनि यहाँबाट कारोबार गर्दैै आएको ८ वर्षजति भयो । मध्यमस्तरको सेवासुविधा रहेको र कम्पनीले थुप्रै सुधार गर्नुपर्ने देख्छु । अफिस डेकोरेसन, सुलभ शौचालयको व्यवस्था, तीव्र गतिको इन्टरनेट सुविधा, सूचनापाटीको खाँचो रहेको म औंल्याउन चाहन्छु । यसका अलावा व्यवस्थापनको तालमेल भए हामीजस्ता लगानीकर्ताहरुलाई सहज हुन्थ्यो । म चाहिँ १० नम्बरमा ७ नम्बर दिन चाहन्छु ।

केशवबहादुर खत्री(व्यापारी)-लगनखेल,६५ वर्ष

सेयर बजारमा विगत २५ वर्षदेखि नै सक्रियता जनाएको मैले यहाँबाट कारोबार गर्न थालेको ८ वर्ष भयो । सेयर खरिदबिक्रीपछि लेनदेन समयमै भएन र व्यवस्थापन पनि फितलो भएको महसुस हामीले गर्दछौं । २५ प्रतिशत अग्रिम रकम नराखी अनलाइन कारोबार गर्न पाए हुन्थ्यो । म १० नम्बरमा ८ नम्बर दिन्छु ।