काठमाण्डौ । नेपाल टेलिकम आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारी शनिवार बाग्मती सफाइ महाअभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले सफाइ अभियानका लागि आवश्यक सफाइ सामाग्रीहरु पनि सहयोगस्वरुप हस्तान्तरण गरेको छ । 

काठमाडौंको सुविधानगर तीनकुनेस्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सफाइ कार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् । ती सामाग्रीहरु बाग्मती सफाइ महाअभियानका अभियन्ता किशोर थापामार्फत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा अभियन्ताहरुका लागि आवश्यक सफाइ सामग्रीहरु: १ सय जोर ट्रयाक सुट, ३ सय जोर गम बुट, ३ सय जोर पञ्जा, ५० थान डोको, ५० थान सुइरो र २ सय थान मास्क हस्तान्तरण गरिएको थियो । 

सो अवसरमा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नदीनाला र हरियाली मानव जीवनको अभिन्न अंग भएकाले बाग्मती नदीको संरक्षण, सबद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गरी नेपाल टेलिकम यस कार्यमा प्रत्यक्ष  र अप्रत्यक्ष रुपमा निरन्तर संलग्न रहेको बताइन् । उनले यसै आर्थिक वर्ष भित्र बाग्मती नदी किनारामा दुईवटा शौचालय निर्माण सम्पन्न गर्ने बताउँदै भविष्यमा पनि बाग्मती सफाइ अभियानमा सहयोग र सहभागिता भइरहने प्रतिबद्धता व्यक्त गरिन् । 

सो अवसरमा बाग्मती सफाइ अभियन्ता डा. राजु अधिकारीले नेपाल टेलिकमले सुरुवातदेखि नै बाग्मती सफाइ अभियानका लागि निरन्तर रुपमा गर्दै आएको सहयोग र सहभागिताका लागि धन्यवाद दिएका थिए । उनले आगामी दिनमा समेत कम्पनी यो कार्यमा संलग्न रहने विश्वास ब्यक्त गरे ।

सफाइ अभियान सुरु हुनु अघि कम्पनीमा कार्यरत कर्मचारीहरु बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा भेला भई लामबद्ध रुपमा तीनकुने निकट सफाइस्थलमा पुगेका थिए । सहभागी कर्मचारीहरुले सफाइ अभियानका लागि उत्साह प्रदान गर्ने विभिन्न ब्यानर र प्लेकार्डहरु बोकेका थिए । सफाइ अभियानमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक लगायत बरिष्ठ अधिकृतहरु र उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल टेलिकमले बाग्मती सफाइ अभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ । त्यसैगरी बाग्मती सफाइ अभियान प्रारम्भ भएदेखि नै नेपाल टेलिकम आफ्नो वार्षिकोत्सवको अवसरमा सफाइ अभियानमा संलग्न हुुनुका साथै सफाइका लागि विभिन्न सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ ।  

बाग्मती नदीको सफाइ, स्वच्छता र संरक्षण एवं बाग्मती सभ्यताको प्रवद्र्धनको लागि २०७० जेठ ५ गतेदेखि हरेक शनिबार यो अभियान सञ्चालन हुँदै आइरहेको छ र आज १९४ औँ हप्ताको सफाइ अभियान पनि सफलता साथ सम्पन्न भएको बताइएको छ ।