काठमाण्डौ । बाजुरा सदरमुकामा मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार बिहान २ वर्षीया बालिकाको मृत्यु भएको छ।

उपचारकै क्रममा बिहान करिब २ बजे ती बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ। 

कैलालीका गौरिफन्टा नाकाहुँदै ती बालिका र उनका परिवारजन ८ दिनअघि बाजुरा आएका थिए। बूढीगंगा वडा नं. धुरालचैन घर भएकी ती बालिकासहित परिवारका सदस्य गाउँकै क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा बसेको ४ दिनमा समस्या आएपछि ती बालिकालाई परिवारजनले जिल्ला गत जेठ १५ गते अस्पताल ल्याएका थिए। 

भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने समस्या देखिएको परिवारजनले बताएका छन्। 

अस्पताल पुराउँदा बालिकामा कडा निमोनिया देखिएको अस्पतालका चिकित्सकहरुले बताएका छन्। उनमा श्वास फेर्न कठिन र मुटुको चालसमेत बढेको थियो। 

शनिबार बिहान बालिकासँगै उनका बुवा र आमाको पनि पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको चिकित्सकहरुले बताएका छन्। आज दिउँसोसम्म रिपोर्ट आउने बताइएको छ।