काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचक २.४ अंकले बढी १२८८.३६ विन्दूमा पुुगेको छ । यो दिन बुधबारको तुलनामा कारोबार रकम पनि केही बढेको छ । 

बजारमा नेप्से परिसूचक र कारोबार रकम एकसाथ बढ्नुलाई आशालाग्दो संकेतको रुपमा बुुझ्ने गरिन्छ । यो प्रवृति बजारमा केही दिनसम्म कायम रहे बजारले नयाँ उचाई चुम्छ भनी मान्यता राख्ने विश्लेषक पनि धेरै छन् । 

बिहीबारको कारोबार हेर्दा बाठा लगानीकर्ताहरुले बजार घटेको मौका छोपी क वर्गका कम्पनीका सेयर उठाइरहेका देखिएको छ । बजार घटेर न्यून विन्दूमा झरेको बेला सस्तो मूल्यमै यस्ता कम्पनीको सेयर पाइने भएकोले सकेसम्म यो बेला खरीद गर्न सकिए भविष्यमा राम्रो लाभ उठाउन सकिने जानकारहरु बताउँछन् । घटेको बेला समेत सेयर खरीद गर्न नसक्नेले सेयर बजारबाट कमाउन सक्दैन । यो स्वर्णिम अवसर अझै केही दिन बाँकी रहने देखिएकोले लगानीको जोहो गर्न सक्नेहरुले कम्पनीको अवस्था हेरेर छानी छानी सेयर खरीद गरे पछुुताउनुपर्ने अवस्था नहुने देखिन्छ । 

यो दिन उत्पादनमूलक समूहमा २५.९ अंकले गिरावट भए पनि बाँकी सबै समूहको सूचक हराभरा भए । 

बैकिङ समूह ०.३१ अंकले बढ्यो भने बिमा, विकास बैंक, माइक्रोफाइनान्स र बित्त समूहमा क्रमशः ९.६७, २.२७, २.४९ र ०.१६ अंकको बढोत्तरी भयो । यो दिन होटल समूह ७५.७१, जलविद्युत समूह १३.६७ र अन्य समूह ४.०१ अंकले बढे । 

लगानीकर्ताहरुले ‘क’ वर्गका कम्पनीको सेयर बढी उठाएका कारण सेन्सेटिभ इण्डेक्स ०.६५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१८ अंकको बढोत्तरी देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५१ कम्पनीका ६ लाख २५ हजार ४ सय ६७ कित्ता सेयर २३ करोड ३७ लाख ९४ हजार ३ सय १४ रुपैयाँमा कारोबार भयो । यो दिन नेपाल बैंकले सबैभन्दा बढी १ करोड ५४ लाख बढीको कारोबार गर्यो । यस्तै, नबील बैंकले १ करोड १५ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ७ लाख, एनआइसी एशिया बैंकले १ करोड २ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९३ लाख, एभरेष्ट बैंकले ८२ लाख, ओरिएन्टल होटलले ८२ लाख, नागरिक लगानीकोषले ६८ लाख, जनता बैंक नेपालले ६५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सोल्टी होटलका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो । वरुण हाइड्रोपावर र ओरिएन्टल होटल लिमीटेडको मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन सिभिल लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ३.६० प्रतिशतले घट्यो । वल्र्ड मर्चेन्ट एण्ड बैकिङ फाइनान्स लिमीटेडका लगानीकर्ताले समेत ३.३८ प्रतिशतले सम्पत्ति गुमाए ।