काठमाण्डौ । बर्षा र बाढीका कारण नेपाल विद्युत प्राधिकरणका देशभरका ३० भन्दा बढी प्रसारण तथा वितरणलाइन, सवस्टेशन र विद्युत गृहहरुमा क्षति पुुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । उसका अनुसार पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका ती संरचनाहरूमा बाढीका कारण क्षति पुगेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीका कारण प्रसारण लाइन, सवस्टेशन, वितरण लाइन र विद्युत् गृहहरूमा क्षति पुगेको हो । ‘बाढीले विराटनगर र जनकपुर क्षेत्रका अधिकांश संरचनामा क्षति पुगेको छ,’ उनले भने,‘सम्भव भएको ठाउँमा तुरुन्तै प्रणाली सञ्चालन गर्ने र बाढीका कारण असम्भव देखिएको क्षेत्रमा सम्भव भएपछि तत्काल काम अघि बढाउँछौं ।’ बाढीले क्षति पुर्याउँदा विराटनगर तथा जनकपुर क्षेत्रका अधिकांश क्षेत्र विद्युतविहीन बन्न पुुगेका छन् । बाढीका कारण विराटनगर र जनकपुरमा सवा दुई लाखभन्दा बढी ग्राहक विद्युतबाट बञ्चित भएका प्राधिकरणले जनाएको छ । 

बाढीका कारण निजी क्षेत्रको ७० सहित २२५ मेगावाट केन्द्रीय प्रणालीबाट विच्छेद भएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले बाढीले विद्युत् गृह क्षतिका साथै प्रसारण लाइन र सवस्टेशनमा समस्या आएका कारण केन्द्रीय प्रसारण लाइनबाट विच्छेद भएको बताए । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार २२ मेगावाटको सानिमा माई, १४.९ मेगावाटको हेवा खोला ‘ए’, ७ मेगावाटको माई क्यासकेड, १० मेगावाटको माथिल्लो माई, ६.१ मेगावाटको माथिल्लो माई ‘सी’, ७ मेगावाटको जोगमाई जलविद्युत् केन्द्रलगायत आयोजना प्रणाली अवरुद्ध हुँदा उत्पादन ठप्प छ । 

संखुवासभामा सञ्चालित ४.४ मेगावाटको हेवा, ३ मेगावाटको पिलुवा र ९ सय किलोवाटको तल्लो पिलुवाको उत्पादन पनि बन्द भएको ईप्पानले जनाएको छ । प्राधिकरणका अनुसार काबेली करिडोरअन्तर्गत दमक–गोदक १३२ केभी खण्डको इलाम चुलाचुलीमा १७ नम्बर टावर र हेटौंडा सबस्टेसन नजिक ६६ केभी टावर पल्टिन लागेकाले ६६ केभी औद्योगिक फिडर सर्किटका साथै दुहबी, दमक, चन्द्रनिगाहपुर र अनारमनि सबस्टेसनमा क्षति पुगी प्रणाली अवरुद्ध भएको छ । १३२ केभीको चपुर–पथलैया र ढल्केबर–चन्द्रनिगाहपुर तथा ६६ केभीको बालाजु–त्रिशूली लाइनमा पनि समस्या देखिएको छ ।  त्यसैगरी लहान सवस्टेशन अन्तर्गतको रुपनी र लोकल फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द भई ३६ मेगावाटको लोडमध्ये २ मेगावाटमात्र, ढल्केबर सवस्टेशन अन्तर्गतको जनकपुर फिडरबाहेक सम्पूर्ण बन्द भएर ३५ मेगावाटको लोडमध्ये १ मेगावाटमात्र र चपुरमा खपत हुने ३२ मेगावाटमध्ये १.५ मेगावाटमात्र खपत भइरहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार परवानीपुर, वीरगन्ज, सिमरा, भरतपुर, शिवपुर, कोहलपुर सवस्टेशन लगायतका क्षेत्रमा पनि समस्या देखिएको छ भने खपतसमेत धेरै घटेको छ । वर्षाका कारण १४४ मेगावाटको कालीगण्डकीले एक सय मेगावाट मात्र, ७० मेगावाटको मध्य मस्र्याङ्दीले २५ मेगावाट र ६९ मेगावाटको मस्र्याङ्दीले ३२ मेगावाटमात्र उत्पादन गरिरहेको छ । 

त्यस्तै, गण्डक पावरहाउसको उत्पादन बन्द भएको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार माग घटेपछि बिहार र टनकपुरबाट हुने विद्युत् आयात बन्द गरिएको छ भने ढल्केबर–मुजफ्फरपुरबाट ल्याइएको लिऊ वा तिर (टेक अर पे) को विद्युतसमेत ७ मेगावाटदेखि ३३ मेगावाटसम्म मात्र आयात गरिएको छ । बाढीका कारण माग कम भएर आयात कम गर्दा दैनिक प्राधिकरणले सित्तैंमा ४० लाखदेखि १ करोडसम्म तिर्नुपर्ने बाध्यता छ ।