काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा प्रभातफेरि कार्यक्रम गरेर मनाएको छ । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रुपमा मनाइन्छ । यस वर्ष सो दिवस असोज २६ गते बिहीबारका दिन पर्न गएको हुँदा नर्भिकको बाथ रोग विभागले एक विशेष प्रभातफेरि कार्यक्रम आयोजना गरी जनचेतना अभिबृद्धि गर्ने कार्य गरेको हो । 

बाथरोग सम्बन्धी प्रवचन र यस रोगबारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको हो । आज आयोजना गरिएको उक्त कार्यक्रम नर्भिक प्राङ्गगणबाट सुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, बसन्तपुरबाट फर्केर हनुमानढोका, असन चोक, रत्नपार्क, भद्रकाली, माइतीघर मण्डला हुँदै नर्भिकको प्राङ्गणमा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब १५० जनाको टोली संलग्न रहेकोे थियो । 

नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढीभन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ । 

धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पु¥याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । 

प्रभातफेरिकै बीच आजै बिहान एक छोटो प्रवचन कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई  सम्बोधन गर्दै यसखाले कार्यक्रमले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले बताए । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए । 

बाथरोग सम्बन्धी यस खाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् ।

यस वर्षको विश्व बाथरोग दिवसको नारा “विलम्ब नगरौं, आजै गरौं सम्पर्क” राखिएको छ ।