नयाँदिल्ली । फास्ट मुभिङ कन्ज्युमर गुड्स(एफएमसिजी) क्षेत्रमा धमाका मच्चाएपछि योगगुरु रामदेव बाबा टेलिकम उद्योगमा समेत प्रवेश गरेका छन् । न्यूज एजेन्सी एएनआईका अनुसार रामदेवले आइतबार हरिद्वारमा पतञ्जलीको सीमकार्ड लञ्च गरेका छन् । यसलाई ‘स्वदेशी समृद्धि सीमकार्ड’ नाम दिइएको छ । 

बाबा रामदेवको कम्पनी पतञ्जलीले सरकारी टेलिकम कम्पनी बिएसएनएलसँग सम्झौता गरेको र त्यसपछि स्वदेशी समृद्धि कार्ड लञ्च गरेको समाचारमा जनाइएको छ । 

प्रारम्भमा यो कम्पनीको सीमको प्रयोग पतञ्जलीका कर्मचारी र अधिकारीहरुले मात्र गर्न सक्नेछन् । 

त्यसपछि यो सीमको पूर्ण लञ्चिङ हुने र त्यसपछि चाहि यो कम्पनीको सीमकार्डका प्रयोगकर्ताले पतञ्जलीका जुनसुकै उत्पादनमा १० प्रतिशतको छुट पाउने घोषणा समेत अहिले नै गरिएको छ । 

पतञ्जलीले यो कार्डका लागि सुरुवातमै निकै आकर्षक अफर समेत सार्वजनिक गरेको छ । १४४ भारुमा देशभर अनलिमीटेड फोन गर्ने सुविधाको साथमा २ जीबी डाटाको प्रयोग समेत गर्न सकिनेछ । यसअलावा १०० एसएमएस समेत फ्रीमै उपलब्ध हुनेछ । 

पतञ्जलीले आफ्नो कम्पनीको सीमकार्ड प्रयोगकर्तालाई स्वास्थ्य, दुर्घटना र जीवन बिमाको सुविधा समेत उपलब्ध गराइने घोषणा गरेको छ । 

समृद्धि सीमकार्डसँगै प्रयोगकर्तालाई २.५ लाख भारु बराबरको दुर्घटना बिमा तथा ५ लाख भारु बराबरको जीवन बिमा समेत उपलब्ध हुनेछ । सडक दुर्घटनाको अवस्थामा यसले निकै ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ । 

सीमकार्ड लञ्च गर्ने समारोहमा बाबा रामदेवले सरकारी कम्पनी बिएसएनएल स्वदेशी नेटवर्क हो र पतञ्जली तथा बिएसएनएल दुवै कम्पनीको उद्देश्य स्वदेशको समृद्धि र हित नै रहेको बताए । 

रामदेवका अनुसार भारतभर बिएसएनलका ५ लाख काउण्टरहरु छन्, त्यहाँबाट केही सातापछिदेखि नै भारतीय जनताले पतञ्जलीको सीम खरीद गर्न सक्नेछन् ।