काठमाण्डौ । कुनै बेला सेयर बजारलाई ‘जूवाघर’ भनी टिप्पणी गरेका पूर्व प्रधान तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजार उत्पादनमूलक क्षेत्र रहेको जिकिर गरेका छन् । 

बजेटपछि संसदमा जारी छलफलमा सहभागी हुँदै उनले सेयर बजारलाई उत्पादनमूलक क्षेत्रको रुपमा प्रस्तुत गर्दै यस्तो क्षेत्रमा साना लगानीकर्ता हतोत्साही हुने गरी पूँजीगत लाभकर किन ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएको भन्दै प्रश्न गरे । 

पूर्व अर्थमन्त्री समेत रहेका भट्टराईले सरकारमा सहभागी मन्त्रीहरुको सम्पत्ति विवरणमाथि समेत प्रश्न उठाएका थिए । उनले सरकारका अधिकांश मन्त्रीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेका दाबी गर्दै भने ‘मन्त्रीहरुको सम्पति हेर्दा धेरै सुन, घर र जग्गामा लगानी भएको देखिन्छ, यी त अनुत्पादक क्षेत्र हुन् । बरु यो पैसा सेयरमा लगानी गरौं, अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरौं । सुन, जग्गा जस्ता अनुत्पादक क्षेत्रमा गरिएको लगानीमा बढी कर लगाऔं अनि उत्पादनमूलक क्षेत्रमा चाहिँ लगानी बढाऔं ।,’ 

उनले उत्पादनमूलक क्षेत्रमा कर सहुलियत दिन र अनुत्पादक क्षेत्रलाई बढी कर लगाएर नियन्त्रण गर्न सरकारसँग आग्रह गरे । 

डा. भट्टराईले सेयर बजारमा पूँजीगत लाभकर बढाइएकोमा अर्थमन्त्रीको कडा आलोचना गरे । 

उनले नीति तथा कार्यक्रममा पूँजीबजार बिस्तारको कुरा गरेर यसको दायरालाई अझ संकुचित बनाउने र साना तथा नयाँ लगानीकर्तालाई हतोत्साही बनाउने हिसाबले पूँजीगत लाभकर बढाइएकोमा आपत्ति जनाए । 

भट्टराईले बजेट छलफलमा आफ्नो धारणा राख्दै सेयर बजारमा गरिएको कारोबारबाट लाभ हुँदाको अवस्थामा लिइने पूँजीगत लाभकर बढाएर सरकारले साना बचतकर्तालाई समेत पूँजीबजारमा आउन बन्देज गर्न खोजेको जस्तो देखिएको आरोप लगाए । 

उनले ब्रोकर कमिसनको भ्याट हटाएर पूँजीगत लाभकर बढाई सरकारले सामान्य लगानीकर्ता भन्दा ब्रोकरको पक्षमा काम गरेको देखिएको दाबी गरे । उनले भने–‘सेयर बजारमा पूँजीगत कर नलगाएकै राम्रो हो ।’ 

उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजीकरणमा लाने प्रतिगामी बाटो बजेटले अंगिकार गरेको आरोप लगाउँदै कुनै पनि नाफामा अनावश्यक करको भार थोपर्ने काम बन्द हुनुपर्नेमा जोड दिए ।  उनले सरकारले समाजवादी भनेर दाबी गरेको बजेट प्रतिगामी रहेको टिप्पणी समेत गरे । 

कुनै बेला उनकै टिप्पणीले धेरै सम्पत्ति गुमाएका सेयर बजारका लगानीकर्ताले उनको बजारप्रतिको धारणा फेरिएकोमा खुशी मान्ने निश्चित छ । उनले बजारलाई जूवाघर भनिदिंदा करिब १० वर्षअघि पूँजीबजारले निकै लामो समयसम्म भीषण पहिरोहरुको सामना गर्नुपरेको थियो ।