काठमाण्डौ । एमाले, माओवादी र नयाँ शक्तिको एकता तथा आगामी चुनावमा वामघटकको तालमेल तथा गठबन्धनलाई नेपाली कांग्रेसले समेत काउण्टर दिएको छ । 

तीन दलले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेलसँगै पार्टी एकीकरण नै गरेर जाने सहमति गरी त्यसको औपचारिक घोषणा गरेको २४ घण्टा नबित्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा ६ वटा दलहरुलाई सामेल गराई कांग्रेस नेतृत्वमा अर्को गठबन्धन निर्माण गर्ने सहमति बनेको छ । 

गठबन्धनमा नेपाली कांग्रेसहित संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, राप्रा नेपाल, राप्रपा प्रजातान्त्रिक रहनेछन् । बुधबार करिब ६ घण्टासम्म प्रधानमन्त्री निवास बालुुवाटरमा बसेको ६ दलको बैठकले बाम तालमेललाई काउण्टर दिने गरी गठबन्धन निर्माण गरी चुनावी तालमेल गरेर जाने निर्णय गरेको हो । 

चुनावी तालमेलको मोडेलका बिषयमा टुंगोमा पुुग्न ७ सदस्यीय कार्यदल पनि बनाइएको छ, जसमा २ जना कांग्रेसबाट छन् भने बाँकी ५ दलबाट एक एक जनाले प्रतिनिधित्व गर्नेछन् । 

कांग्रेससहितको ६ दलको बैठकमा केही नेताहरुले सत्तामा बसेर माओवादी केन्द्रले प्रमुख प्रतिपक्षीसँग गठबन्धन गरेको भन्दै माओवादीलाई सरकारमा बस्ने नैतिकता नरहेको भन्दै एक्सनमा उत्रिन देउवालाई सुुझाव दिएका थिए । तर, देउवाले भने निर्वाचनसम्म यही सरकार कायम रहने बताएका थिए ।