काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको नीतिका कारण लगानीकर्तालाई हकप्रदको थामिनसक्नु भारी बोकाउने क्रम अझै उस्तै छ । हकप्रदबाटै तोकिएको पूँजी पुर्याउने पक्षमा बैंक तथा बित्तीय संस्था रहे पनि उनीहरुले अपेक्षा गरेजस्तो हकप्रद सहजै बिक्री हुन छाडेको छ । यही समस्याका कारण हकप्रदमा आवेदन दिने म्याद थप्नुुको हैरानीमा छन् बैंक तथा बित्तीय संस्थाहरु । म्याद थप गर्दा समेत आफ्नै सेयरधनीले नपत्याइदिएपछि अधिकांशले बाध्य भई अक्सन मार्केटमा ती सेयर ल्याउने गरेका छन् । अक्सन मार्केटले समेत साथ दिन छाडेपछि अधिकांश बैंक तथा बित्तीय संस्था समस्याबाट गुज्रिरहेका छन् । 

यही लाइनमा कामना सेवा विकास बैंक पनि थपिएको छ । यो बैंकले निश्कासन गरेको १५ प्रतिशत दरको हकप्रद समेत बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । यसअघि आवेदन दिने अन्तिम म्याद फागुन २० गते राखिएको थियो । बैंकले सो समय बढाएर चैत ५ गतेसम्म आवेदन दिन सकिने भन्दै आइतबार सूचना प्रकाशित गरेको छ । 

यो बैंकले १०० रुपैयाँ अंकित दरका ३० लाख ९४ हजार १ सय ५४.१७ कित्ता सेयर माघ १५ गतेदेखि निश्कासन गरेको थियो । हकप्रद प्रयोजनका लागि बैंकले माघ ३ गतेलाई बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ माघ २ गतेसम्म यो बैंकको सेयर खरीद गर्नेहरुले हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गरिरहेको छ ।

इच्छुक सेयरधनीले एनएमबी क्यापिटलको मुख्य कार्यालय, एनएमबी बैंकका तोकिएका शाखा र कामना सेवा विकास बैंकको सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि २ अर्ब ३६ करोड पुुग्नेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा १३ करोड ६० लाख खूद नाफा आर्जन गरेको थियो ।