काठमाण्डौ । करेक्सनका कारण दुई दिनसम्म सुस्ताएको बजार बुधबार फेरि चम्किएको छ । वाणिज्य बैंक र विकास बैंकहरुले यो वर्ष राम्रो लाभांश वितरण गर्नसक्ने लोभका कारण लगानीकर्ताहरुले यी समूहका सेयर धमाधम उठाइरहेका छन् । 

मुख्य रुपमा यो दिन पनि बैंकिङ समूहकै कारण बजारमा दोहोरो अंकको उछाल आएको हो । बजार परिसूचक १९.१४ अंकले बढेको यो दिन कारोबार रकम समेत बढेर ९५ करोड माथि पुगेको छ । 

परिसूचक र कारोबारको आकार एकसाथ बढ्नु बजारका लागि सकारात्मक संकेत हो । दुई दिन करेक्सन व्यहोरेको बजार पुनः उछालको गतिमा कुद्न थालेका कारण बुलिस प्रवृति सुरु भइसकेको मान्न सकिने विश्लेषकहरुले बताएका छन् । 

बैंक तथा वित्तीय संस्थाको तेश्रो त्रैमासको प्रगति विवरण निकै उत्साहजनक रहने र यसबाट राम्रो लाभांश पाइने आशामा लगानीकर्ता देखिएका छन् ।

यस्तै, बैंकहरुबीच बिग मर्जरको बहस छेडिएको र नियामक तथा सरकार समेत यसको पक्षमा रहेको स्पष्ट संकेत देखिएसँगै र केही बैंकले बिग मर्जरको प्रयास थालेका खबर बाहिरिएसँगै वाणिज्य बैंक बजारको हटकेक बन्न थालेको छ । 

ब्याजदर घट्ने आशा र सरकारी खर्च बढी तरलता अझ बढी सहज हुने अनुमानले समेत लगानीकर्ताको मनोबल उकासिरहेको छ । 

बैंकप्रति उत्साहित लगानीकर्ताले खरिदारी बढाएकै कारण नेप्से परिसूचक १९.१४ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ४.८ र फ्लोट इण्डेक्स १.६७ अंकले बढेको छ । ।

यो दिन बैंकिंग समूहको सूचक २७.२ अंकले बढेको छ । यस्तै, विकास बैंक समूह ३९.३४ अंकले बढेको छ भने होटल समूह ६०.११ अंकले बढेको छ । 
वित्त समूह ३.९५ अंकले बढेको यो दिन निर्जीवन बिमा समूह १३.६९, जीवन बिमा समूह ११.४६ अंक, माइक्रोफाइनान्स समूह ६.०१ र अन्य समूह ४.१६ अंकले बढेको छ । 

यो दिन जलविद्युत समूह १०.६८ अंकले घटेको छ भने उत्पादनमूलक समूह २.६९ अंकले झरेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका ३४ लाख ८ हजार ३७४ कित्ता सेयर ९५ करोड ३ लाख ४ हजार ४१० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन नेपाल बैंकले मात्र ९ करोड ९ लाख माथिको कारोबार भएको छ । 

यसैगरी, ग्लोबल आइएमई बैंकले ७ करोड १९ लाख, एनआइसी एशियाले ६ करोड ४० लाख, प्रभू बैंकले ६ करोड २७ लाख, जनता बैंकले ५ करोड ९४ लाख, एनएमबी बैंकले ३ करोड ९५ लाख, प्राइम कमर्सियल बैंकले ३ करोड १५ लाख, एनसीसी बैंकले ३ करोड ५ लाख, कृषि विकास बैंकले २ करोड ४१ लाख र छिमेक लघुवित्त विकास बैंकले १ करोड ८८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.७७ प्रतिशतले बढ्यो । धेरै मूल्य बढेका १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले ओगटे । मेगा बैंकको मूल्य ६.०४ प्रतिशतले बढ्यो भने प्रभूको संस्थापक सेयरको मूल्य ६ प्रतिशत, ग्लोबल आइएमईको मूल्य ५.९६ प्रतिशत, प्राइम कमर्सियलको ५.५२ र सेञ्चुरी बैंकको मूल्य ५.२९ प्रतिशतले बढ्यो ।

यो दिन रादी जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ५ प्रतिशतले घट्यो ।