काठमाण्डौ । नेप्सेसँगको मिलेमतोमा ब्रोकरहरु वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन नहुने लविङमा लागिरहेकै बेला विकास बैंकसँगै वित्त कम्पनीहरुले समेत त्यस्तो लाइसेन्स मागेका छन् । 

युनिभर्सल बैंकिङको उदाहरण दिंदै अब सबै वित्तीय संस्था बैंक हुने र सबैले समान अवसर पाउनुपर्ने माग उठ्न थालेको हो । 

आगामी वर्षका लागि नीति तथा कार्यक्रम तयार गर्नुअघि नेपाल धितोपत्र बोर्डले आयोजना गरेको छलफलमा वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले समेत ब्रोकरेज सेवा संचालनको अनुमति मागेका हुन् । 

छलफलमा सहभागी मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले वाणिज्य बैंकले मात्र नभई विकास बैंक र वित्त कम्पनीहरुले पनि ब्रोकरेज सेवा संचालनको लाइसेन्स पाउनुपर्ने माग गरे । 

नेपाल राष्ट्रबैंकले १० वटा वाणिज्य बैंकलाई ब्रोकरेज सेवा संचालनका लागि आवश्यक सहकाय कम्पनी स्थापना गर्न र सो बाटोतर्फ अगाडि बढ्ने स्वीकृति दिएसँगै यो विषय अहिले सेयर बजारको हटकेक बनेको छ । 

डेभलपमेन्ट बैंकर्स एशोसिएसनले विकास बैंकहरुले समेत ब्रोकरेज सेवा संचालनको लाइसेन्स पाउनुपर्ने माग संस्थागत रुपमै केन्द्रीय बैंकलाई बुझाइसकेका छन् भने वित्त कम्पनीबाट समेत यस्तो माग उठेको हो ।