काठमाण्डौ। अमेरिकाको ह्वाइटहाउसका कोरोनाभाइरस टाक्स फोर्सका प्रमुख डा एन्थनी फाउचीले कोरोनाभाइरसलाई बिना कुनै भ्याक्सिन वा असरदार उपचार बिना पूर्ण पनि निमिट्यान्न गर्न नसकिने बताएका छन्।

डा फाउचीले सोमबार एक पत्रकार सम्मेलनमा कोरोनाभाइरस असरदार उपचार र भ्याक्सिन पत्ता लाग्न नसके यो फैलिनुअघि अमेरिका जुन स्थितिमा थियो सायद त्यहाँ पुग्न असम्भव हुने पनि बताए। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाभाइरसबाट ३ हजार ६८ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने ११ हजारभन्दा बढीको ज्यान गइसकेको छ।  

कोरोनाभाइरस संक्रमणका कारण विश्वभरको कारोबार र सामाजिक जीवन नराम्ररी प्रभावित भइरहेको छ। विश्वका २११ देशमा यो भाइरसबाट हालसम्म १३ लाख ४७ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने ७५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। अधिकांश देश अहिले लकडाउन गरिएका छन्। अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द छन्। 

अमेरिकाका विभिन्न राज्यमा कोरोना संक्रमण रोक्न सामाजिक दूरीलगायतका तरिका अपनाइएका छन्। 

डा फाउचीका अनुसार कोरोनाभाइरसजस्ता महामारीमाथि त्यतिखेरमात्र नियन्त्रण सम्भव हुन्छ जब आफूहरु जनतालाई पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति दिन सक्षम हुन्छौँ। ‘अहिले हामी सामान्य अवस्थाको कल्पना पनि गर्न सक्दैनौँ किनकि अहिले परिस्थिति निकै फरक छ’, उनले भने, ‘हामीले अहिले निकै नराम्रो परिस्थितिबाट गुज्रिरहेका छौँ।’

डा फाउचीले छिटै कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाउन सकियोस् र कोसिस गरियोस् कि यस्तो परिस्थिति फेरि नआओस् भन्ने धारणासमेत राखे।

डा फाउचीले यो संक्रमण मौसमी बिरामी बन्न सक्ने पनि औँल्याए। ‘यस वर्ष यो भाइरसलाई पूर्ण रुपमा नियन्त्रणमा लिन सक्ने अवस्था छैन’, उनले भने, ‘अर्को मौसममा पनि यो भाइरस पुनः देखिन सक्छ।’ – एजेन्सी